विद्युत प्राधिकरणको चेतावनीः इन्टरनेट कम्पनीले ७ पुसभित्र बक्यौता नबुझाए तार काट्छौँ
काठमाडौं । आगामी पुस ७ गतेभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोग गरेको पोेलको भाडा भुक्तानी नगरे नेपाल विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिएको छ । पटक/पटक पोल भाडाको रकम भुक्तानी गर्न ताकेता गर्दै आएको प्राधिकरणले पुस ७ गतेसम्मको समय दिएर बुधबार पुनः सूचना प्रकाशन गरेको छ । प्राधिकरणले संरचनाहरू प्रयोग गर्ने टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आगामी ९ दिनभित्र नविकरण र सम्झौता गर्न निर्देशन दिदै सम्झौता नभए तार काटिदिने चेतावनी दिएको हो । आगामी पुस ७ गतेभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रदोशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, सम्झौता नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न आग्रह गरेको छ । पोल भाडा बक्यौता रकम भुक्तानी गर्न प्राधिकरणले यसअघि मंसिर ६ गते सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडा सम्झौता नवीकरण तथा बक्यौता रकम भुक्तानीमा आनाकानी नगरेपछि प्राधिकरणले तार काट्ने चेतावनी दिएको हो । तोकिएको अबधिमा सम्झौता तथा बक्यौता रकम भुक्तानी नभए सेवा प्रदायक संस्थाहरुको केबल/अप्टिकल फाइबर हटाउने लगायत निजहरुलाई नेपाल विद्युत प्राधिकरणको प्रचलित विनियमानुसार कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार केही सेवा प्रदायकहरूले अहिलेसम्म भाडा दर भुक्तानी गरेका छैनन् । सेवा प्रदायकहरूलाई प्राधिकरणसँग सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम नगर्न सूचनामा भनिएको छ । प्राधिकरणले २०७५ मा विद्युतीय पोल र अप्टिकल फाइबरको भाडा दर बढाएपछि सेवा प्रदायकले त्यसको विरोध जनाउँदै भाडा तिर्न अटेर गर्दै आएका छन् । यता इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी गर्दै आएको जनाएको छ । अध्यक्ष सुधिर भण्डारी पोल भाडा प्रयोग गरे बापतको रकम भुक्तानी भैरहेको बताउँछन् । ‘सरकारले तयार पारेको रिपोट प्राधिकरणको बोर्डमा गएर रोकिएको छ, बोर्डले रिपोट पास नगर्दासम्म बक्यौता रकम निक्यौल गर्न सकिदैन । प्राधिकरण खालि तार मात्र काट्छौँ भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई धक्मी मात्र दिदै आएको छ, तर तार कसरि व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ कुनै ध्यान गएको छैन’, उनले भने, ‘हामीले तार व्यवस्थापनको काम निरन्तर रुपमा गर्दै आएका छौँ, बक्यौता रकमको कुरा बोर्डले पास गरेपछि मात्र भुक्तानी गछौँ ।’ प्राधिकरणले यसअघि पटक/पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत प्राधिकरणले इन्टरनेटको तार समेत काटेको थियो । पटक/पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दा समेत वेवास्ता गरेकोभन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो । इन्टरनेटको तार काटिएपछि पोलभाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिले बुझाएको प्रतिबेदन हाल प्राधिकरण बोर्डमै रोकिएको छ ।
चितवनको दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ,’ उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।’ भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउँछिन् । ‘सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ,’ उनले भनिन्, ‘गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन ।’ इच्छाकामना गाउँपालिका–१ को चौकी डाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै, हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । ‘मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन,’ उनले भने, ‘भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।’ वडाध्यक्ष मगरले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ । नेटवर्कको समस्या समाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। भने, ‘यसै त भौगोलिकरुपमा पछि परेको ठाउँ हो हाम्रो । विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।’ इच्छाकामना–१ चौकी डाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताइन् । उनले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गरिन् । रायमाझीले इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रूपमा फोन गर्न पाए पनि खुसी हुने बताइन् । ‘अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पु¥याउन पाइँदैन,’ उनले भनिन्, ‘लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।’ आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । भने, ‘मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।’ नेटवर्कको समस्याका कारण स्कुलमा वाई फाई जडान गर्न नसकिएको भन्दै गुरुङले गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर समेत टेलिकममा बुझाइएको बताए । भने, ‘गाउँपालिकाले वाई फाई जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुर्यो ।’ दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । उनले कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए । उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । उनले वडा नम्बर २ को हुस्ती, माझ खर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए । यस्तै, वडा नम्बर ७ को गर्दा, सुन्दर बस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको छ । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए । रासस
नेपाल टेलिकमको मोबाइल रिचार्ज गर्दा १० जिबीसम्म डाटा नि:शुल्क पाइने
काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । टेलिकमकाे अनुसार २०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी, १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ । यो अफर मंसिर २० गतेदेखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।