लोत्से मलमा लुटपाट, ८ करोड बढीको मोबाइल चोरी
काठमाडौं । सोमबार साँझ नयाँ बसपार्कमा रहेका लोत्से मलमा लुटपाट हुँदा ८ करोड रुपैयाँ बढीको मोबाइल चोरी भएको छ । नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट हुँदा २ पसलमा रहेका ८ करोड रुपैयाँ बढीका मोबाइल चोरी भएको बताएको हो । महासंघका अध्यक्ष भरत भट्टराईले दुई वटा मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको बताए । उनले सोमबार साँझ नै प्रहरीलाई उक्त घटनाको जानकारी गराएतापनि अहिलेसम्म मोबाइल चोरीमा संलग्न कसैलाई पक्राउ नगरिएको बताए । अध्यक्ष भटराईले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै त्यसको विरोध गर्ने बताए । मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकीकृत भएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले सोमबार साँझ काठमाडौंको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका थिए । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका मजदुरले लोत्से मलमा तोडफोड गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कदेखि गोँगबुचोकसम्म सडकमा बसेर कमाउन लागेका बस तथा माइक्रोबस व्यवसायीले नयाँ बसपार्कभित्र छिर्नपर्यो भनेर रिसमा लोत्से मलभित्र तोडफोड गरेको बताए । उनले लोत्सेमा सोमबार भएको तोडफोड तथा लुटपाटबाट लोत्सेलाई करोडौँको क्षति भएको बताए । ‘लोत्से मलभित्र भएको क्षतिको क्षतिपूर्ति कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,’ उनले भने । आन्दोलनकारी पसलभित्रै बसेर तोडफोड तथा चोरी गरेका थिए । उक्त क्षेत्रमा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको छ ।
नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का हाकिम तथा प्रबन्ध सञ्चालकलाई साढे ९ करोड रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का १० औं तह र सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक तथा अन्य सुविधावापत ९ करोड ६८ लाख २१ हजार ५४ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा सञ्चालकहरुले बैठक भत्ता वापत ११ लाख २ हजार ५ सय रुपैयाँ बुझेका छन् । जसमा सबैभन्दा धेरै सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य अम्बिका प्रसाद पौडेलले भत्ता वापत बुझेका छन् । सञ्चालक पौडेललाई कम्पनीले ४२ वटा बैठकमा उपस्थित भएवापत १ लाख ९२ हजार ५ सय रुपैयाँ भत्ता भुक्तानी गरेको हो । यस्तै, सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले १ लाख ८८ हजार रुपैयाँ, पूर्व अध्यक्ष हरिप्रसाद बस्यालले १२ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् । यस्तै, सञ्चालकहरु भुपाल बरालले ६९ हजार रुपैयाँ, रामेश्वर दंगालले १ लाख ८ हजार रुपैयाँ, उत्तर कुमार खत्रीले १ लाख ३६ हजार रुपैयाँ, डिल्लीराम शर्माले १२ हजार रुपैयाँ, फणीन्द्र गौतमले १ लाख ८५ हजार रुपैयाँ, सुनिल पौडेलले ६० हजार रुपैयाँ, प्रतिभा बैद्यले ६० हजार रुपैयाँ र डिल्लीराम अधिकारीले ८० हजार रुपैयाँ भत्ता वापत बुझेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिको ४३ वटा बैठक बसेका थिए । गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीका सेयरधनीहरुले ३१ करोड ३६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी रहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालले जानकारी दिए ।
आम्दानीमा कैंची लगाएर सूचना बजाउने भाँडो बन्दै नेपाल टेलिकम
काठमाडौं । तपाईं नेपाल टेलिकमको सीम प्रयोग गर्नुहुन्छ भने तपाईंले कुनै व्यक्तिलाई फोन गर्दा एउटा आवाज आउँछ । कहिले कोरोना महामारी विरुद्ध बच्ने उपाय, कहिले भ्रष्टाचार विरुद्दको सूचना, कहिले राजश्व संकलन त कहिले कुनै दिवसको सूचनासहितको आवाज बज्छ । कतिपयले त्यो आवाज ध्यान दिएर सुन्छन् त कतिले सुन्नै नपाए पनि हुन्थ्यो नि भन्ने दिक्दारी पोख्छन् । कतिपय तपाईं हामीसँग सरोकार नभएका सूचना पनि हामीले फोन गर्दा सुन्नु पर्ने बाध्यता रहन्छ । त्यसमा सुन्ने वा नसुन्ने विषयमा कुनै विकल्प हुँदैन । तर, फोन गर्नैका लागि भएपनि पर्खेर सुन्नु बाहेकको विकल्प तपाईं हामी सामू हुन्न । हो, मुलुकभर सर्वसुलभ र भरपर्दाे दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य बोकेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पछिल्लाे समय अनेकन सूचना प्रसारण गर्ने माध्यम बन्न थालेको छ । कम्पनीले फोन कल सेवामा सूचनाहरु प्रसारण गरेर जनतालाई सुन्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिरहेको गुनासो सेवाग्राहीहरुबाट आएको छ । नेपाल टेलिकमले कोरोना महामारीका बेलामा न्यूनीकरण सम्बन्धी सूचनाहरु प्रसारण गरेर राज्यलाई ठूलो योगदान गरेको थियो । महामारी तथा प्रकोपबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सरकारका नियकाहरुले टेलिकमको भ्वाइस सेवालाई प्रयोग गरेको पाइएको छ । तर, राज्यको नै बहुमत स्वामित्व रहेकै आधारमा अन्य सरकारी निकायले पनि आफ्ना सूचनाहरुलाई प्रसारण गर्ने माध्यमका रुपमा टेलिकमलाई लिँदा यसले सेवाग्राहीलाई मर्का पुगेको छ । टेलिकममा नेपाल सरकारको ९१ प्रतिशत सेयर स्वामित्व छ । सरकारी संस्थान भएकाले टेलिकमलाई सूचना प्रसारण गर्ने माध्यमका रुपमा लिने गरेको जानकारहरु बताउँछन् । नेपालको दूरसञ्चार क्षेत्रमा मुख्य भूमिका निर्वाह गरिरहेको कम्पनीले ग्राहकबाट मात्रै नभएर अन्य सूचना तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) पठाएर आम्दानी पनि गर्ने गरेको छ । टेलिकमले ग्राहकको इच्छा विपरित वा बाध्यात्मक परिस्थिती बनाएर उक्त सन्देशमुलक सामाग्री प्रसारण गर्ने गरेको आरोप लाग्ने गरेको छ । ग्राहकले शुल्क तिरेको सेवामा टेलिकमले सूचनाहरु प्रसारण गर्दा दिक्क लाग्ने गरेको एक सेवाग्राहीले बताए । यसरी ग्राहकलाई दिक्क लाग्ने किसिमका सन्देशहरु प्रसारणमा टेलिकम चुकेको सेवाग्राहीको गुनासो छ । यद्यपि, टेलिकमले सरकारी सन्देशमुलक सूचनाहरुलाई भने निःशुल्क प्रसारण गर्ने गरेको छ । नेपाल दूरसञ्चार कम्पनीका (नेपाल टेलिकम) सोभन अधिकारी सरकारका सन्देशमुलक वा सूचनामुलक सूचना प्रसारण गर्दा नेपाल टेलिकमलाई शुन्य फाइदा हुने गरेको बताउँछन् । जनहितमा जारी सन्देश वा सूचना प्रसारण गर्दा उल्टै आफ्नो सेवालाई कटौति गर्नु परेको उनको भनाइ छ । ‘टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) र एसएमएस अलर्टबाट मात्रै आम्दानी हुन्छ, जस्तो फोनमा गीत सुनाउन कुनै सीआरबीटी प्रयोग गरिन्छ, सीआरबीटीबाट संकलन हुने रकम कम्पनीको आम्दानीमा जोडिन्छ,’ उनले भने । सरकारी निकायले दिएका सूचनाहरु जस्तो कोरोना, डेङ्गु महामारी न्यूनीकरण लगायतका सन्देश बजाउने गरिएको छ । सरकारी निकायले रेकर्ड गरेर पठाएको सन्देश नै कम्पनीले प्रसारण गर्दछ । सन्देशमुलक, सूचनामुलक बाहेक ग्राहकहरुले सीआरबीटी प्रयोग गर्दा कम्पनीलाई ठूलो रकम आम्दानी हुने गरेको टेलिकमले बताएको छ । सरकारी सूचना प्रसारण गर्दा ठूलो लागत नलाग्ने भएकाले कम्पनीलाई धेरै घाटा नलाग्ने अधिकारीले बताए । ‘सरकारी सूचना सिस्टममा अपडेट गराउँदा धेरै लागत लाग्दैन, उहाँहरु रेकर्ड गरेर पठाउनु हुन्छ, अपडेट वा लोड गर्नलागत नलागे पनि सीआरबिटी प्रयोगकर्ताहरुबाट भइरहेको आम्दानी भने घट्छ, सरकारी सूचनाहरु बजाउँदा सीआरबिटी सेवा बन्द हुन्छ,’ उनले भने, ‘कोरोना महामारीको बेला लामो समय न्यूनीकरण सम्बन्धी सूचना बजाउनु पर्याे, त्यो बेला सीआरबीटी धुनहरु बन्द गर्दा आम्दानी घट्यो, घाटा भएको होइन तर आम्दानीमा ब्रेक लागेको हो ।’ उनले ग्राहकलाई दिक्क लाग्ने सूचनाहरुमा टेलिकम सचेत रहेको बताए । सूचना बजाउने भाँडोको रुपमा लिने भन्दा पनि राज्यको निकाय भएकाले जिम्मेवारी बहन गरेको उनको भनाइ छ । राज्यको नीति र आवश्यकता अनुसार यस्ता सन्देशहरु बजाइने गरेको उनले बताए । विकट ठाउँमा कम्पनीले लागत भन्दा सस्तो सेवा दिइरहेको प्रवक्ता अधिकारी बताउँछन् । देशभर सञ्चार सेवा सुलभ दरमा पुर्याउने कम्पनीको दायित्व रहेको उनले बताए । ‘नेपाल टेलिकमले अहिलेसम्म कुनै कम्पनी वा ब्यक्तिको विज्ञापन गर्ने गरेको छैन, एनटिसीले सन्देशमुलक सूचना मात्रै सरकारको तर्फबट बजाएको हो, विदेशमा टेलिकम कम्पनीहरुले पनि विज्ञापन गरिरहेका उदाहरण छन्, कतिपय देशमा सञ्चार सेवा प्रदायक कम्पनीले विज्ञापन प्रसारण गरेका हुन्छन्,’ उनले भने । सरकारका सूचना तथा अन्य माध्यमभन्दा सजिलो र छोटो अवधिमा धेरै भन्दा धेरै जनतामाझ पुर्याउन टेलिकमको सेवा सबैभन्दा बढी प्रभावकारी रहेको उनले बताए । तर, टेलिकमले सूचना बजाउँदा अरुको भाग खोसेको जस्तो देखिएपनि कम्पनीले आफ्नो उत्तरदायित्व मात्रै निर्वाह गरेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर सूचना सन्देश प्रसारण गर्नुपर्ने बताउँछन् । विज्ञापन बोर्डले जारी गरेको आचार संहिता अनुसार कुन-कुन सूचना कुन माध्यमबाट बजाउने भनेर स्पष्ट खुलाएको उनको भनाइ छ । दैविक प्रकोप, सामाजिक र सार्वजनिक हीतको सूचना, अत्यावश्यक सेवा वा जनधनको क्षति हुने अवस्था आयो भने जुनसुकै माध्यमबाट पनि सूचना प्रकाशन/सारण गर्ने चलन संसारभरी रहेको उनले बताए । ‘टेलिकमले उपभोक्ताको सन्तुष्टिलाई ध्यान दिनुपर्छ, ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो, यदि त्यस्ता सूचनाले ग्राहकलाई दिक्क लाग्ने वा मन पराएका छैनन् भने टेलिकम सजग हुनुपर्छ,’ उनले भने, ‘तपाई हामीले प्रयोग गरेको फोनको शुल्क तिरेको हुन्छ, यसमा हाम्रो अनुमति र अत्यावश्यक बेगर प्रसारण गर्नु हुँदैन, ग्राहकको सन्तुष्टिलाई बुझ्ने दायित्व कम्पनीको नै हो ।’ कम्पनीले प्रसारण गरेको सूचना वा सन्देशले ग्राहकलाई आकर्षण वा विकर्षण के गरेको छ भनेर सचेत हुनुपर्ने उनले बताए । उनका अनुसार नेपाली भाषा नबुझ्ने कुनै एक ग्राहक छ भने उसले त्यो सूचना केही बुझ्दैन भने यस्ता सन्देश आउँदा झनै दुविधा बनाउँछ । त्यसले ग्राहकलाई सही ढंगले सेवा दियो की दिएन भनेर विश्लेषण गर्ने जिम्मा कम्पनीको नै रहेको उनले बताए । कम्पनीले आफ्नो विज्ञापन पनि आफ्नै माध्यमबाट गर्न नपाइने अध्यक्ष हुमागाईंले बताए । विज्ञापनमा सूचीकरण भएका सञ्चार माध्यममा मात्रै विज्ञापनको कारोबार गर्नुपर्ने उनको भनाइ छ । टेलिकम र एनसेल सेवा प्रदायक कम्पनी भएकाले आफ्नो विज्ञापन आफ्नै माध्यमबाट गर्न नहुने उनले बताए । ‘ग्राहकले शुल्क तिरेको हुँदा विज्ञापन बजाउन पाउँदैन, विज्ञापन बजाएर यति छुट दिन्छु भनेको हुँदैन, ग्राहकको तर्फबाट पनि कम्पनीले हेर्नुपर्ने हुन्छ, यो विषयमा टेलिकमले ग्राहकमैत्री रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘विज्ञापन गर्ने अन्य माध्यम पनि छन्, विज्ञापन गर्ने माध्यम टेलिकम्युनिकेसन क्षेत्र होइन, विज्ञापन गर्ने प्ल्याटफर्म पनि होइन ।’ सार्वजनिक हितको लागि टेलिकमले बजाएको सन्देशमा कुनै आपत्ति नजानएको बोर्ड अध्यक्ष हुमागाईंले बताए । यदि कुनै ब्राण्ड वा प्रडक्ट (आफ्नो बाहेक)को विज्ञापन गर्याे भने विज्ञापन बोर्डले कारवाही गर्ने उनको भनाइ छ ।