जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते

बागलुङ । आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् । विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए । सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । ‘लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ’, उनले भने, ‘राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।’ ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो । आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो । बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो । सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस

स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिए । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनमा थियो । आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ । उनले भने, ‘देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।’ उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन् । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए । ‘हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई/तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।’ उनले भने । नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गरेका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताउनुभयो । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएका उनी यसपटक विभागीय टोलीबाट खेले । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनको अनुभव छ । उनले भने, ‘विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।’ उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिए । खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ । उनले भने, ‘खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुप¥योँ । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।’ नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उनको सुझाव थियो । उनले भने, ‘अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।’ पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उनी उत्साहित छन् । ‘पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि समेत राम्रो खेल्नेछ ।’ उनको विश्वास छ । रासस

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् । रासस