काठमाडौंसहितका केही स्थानमा घाम लाग्यो, नदीमा बाढी आउने क्रम जारी
काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरुमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ । वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन विकराल बनेको थियो । भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ । सवारी आवागमन आइतबार पनि रोक लगाइएको छ । उपत्यकामा पानी पर्न छोडेपनि उपत्यकाका नदीहरुमा बाढी उस्तै छ । केही नदीहरुमा बाहेक अन्य नदीहरुमा बाढीको जोखिम त्यत्तिकै छ । मौसमविद्हरुका अनुसार आइतबार पनि काठमाडौं उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ ।
बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी
खजुरा । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले स्थिति सामान्य रहेको बताएका छन् । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताए ।
सुन अहिलेसम्मकै महँगो, तोलामा २ लाख ३० हजार नाघ्यो
काठमाडौं । दसैँको बिदापछि पुनः सुचारु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य आइतबार एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।