मन्त्रिपरिषद्को बैठकका १४ निर्णय सार्वजनिक, मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १४ निर्णय सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साथै पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गरिएको मन्त्री खरेलले बताए । यसबाहेक बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ भने सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि ६८ दल दर्ता
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६८ पुगेको छ । मंगलबार नेकपा एमालेले पनि दल दर्ता गराएपछि दर्ता संख्या बढेको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता कायम भएका दलमध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गराइसकेका छन् । उनका अनुसार मंसिर १० गतेसम्म दल दर्ता प्रक्रिया खुला रहनेछ । प्रवक्ता भट्टराईले आयोग निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने तयारीमा जुटेको बताउँदै दलहरूको व्यापक सहभागिताले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गरे ।
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा दमक-६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक-९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली-४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक-८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाइएको थियो । प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए । त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो । थप सोधपुछमा विश्व लिङ्देनले सो हतियार इलाम चुलाचुली-४ बस्ने पवन हाङसुङ्वालाई २० हजारमा बिक्री गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो । त्यहाँ खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप-५४ चाइनिज पेस्तोल एक थान तथा पाँच राउण्ड गोली पेस्तोलमै लोड गरिएको, खिया लागेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमकमा ल्याइएको छ । बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।