श्रीनगर एग्रीटेकको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आज असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
रिभर फल्स पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा
काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाडौंमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ । सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।