सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब  २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य  ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो  । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ  ।

दुई दिन सेयर बजार बन्द, दशैंपछि बजार बढ्ने अपेक्षा

काठमाडौं । आइतबार र सोमबार सेयर बजार नखुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै दुई दिनका लागि नेप्से बन्द हुने भएको हो । दशैं बिदापछि आइतबारदेखि सेयर बजार सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, देशभर अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । यससँगै आज र भोलि सेयर कारोबार नखुल्ने भएको हो । दशैंपछि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । दशैंमा ठूलो परिमाणको रकम चलायमान भएकोले त्यो रकम सेयर बजारमा आएर बजार बढ्न सक्ने अपेक्षा लगानीकर्ताको छ ।  भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ । यसले दशैं मनाउन गाउँ गएका सर्वसाधारणलाई काठमाडौं फर्कन कठिन हुने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सेयर बापतको रकम चुक्ता गर्न अमादब्लम मिनि हाईड्रोको ताकेता, नतिरे सेयर खारेज गर्ने

काठमाडौं । अमादब्लम मिनि हाईड्रोले बाँकी रकम जम्मा गर्न सेयरधनीहरूलाई ताकेता गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरूलाई तेस्रो पटक सूचना पठाउँदै सेयर बापतको बाँकी रकम भुक्तानी गर्न ताकेता गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ (२) बमोजिम अमादब्लम मिनि हाईड्रोको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सेयरधनीहरूलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले कबुल गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्न भनिएको छ ।  आफूले कबुल गरेको सेयर बापतको रकम चुक्ता गर्न कम्पनीले सेयरधनीहरूलाई ३५ दिनको समय दिएको छ । यदि उक्त अवधिभित्र रकम भुक्तानी नगरेमा कम्पनी ऐन, २०६३ को दफा ५३ (३) बमोजिम र कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सेयर जफत (खारेज) गर्ने र आवश्यक कारबाही अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ । कम्पनीका अनुसार लक्ष्मण अधिकारीको नाममा ७ लाख कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ६ करोड ४४ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, फुथुण्डु शेर्पाको नाममा १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ९२ लाख ९० हजार भुक्तानी बाँकी छ ।  बेयुल हाइड्रो पावर इन्भेष्टमेन्ट प्रालिको नाममा १ लाख ९६ हजार कित्ता सेयर छ भने ३ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।  आङ पासाङ शेर्पा, पेम्वा थुण्डु शेर्पा र लाक्पा डोमा शेर्पाको नाममा समान १ लाख ५० हजार कित्ता सेयर छ । उनीहरुले कम्पनीलाई १ करोड ४० लाख रुपैयाँका दरले भुक्तानी गर्न बाँकी रहेको छ ।  यस्तै, डोमा छिरी शेर्पाको नाममा ४ हजार कित्ता सेयर रहेको छ । उनले ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।