आदर्श लघुवित्तको सेयर फुकुवा, प्रतिकित्ता ३१८.७० मा कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर फुकुवा गरेको छ । डिपोक्स लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा भएको हो । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न नेप्सेलाई आग्रह गरेको थियो । सोही अनुसार नेप्सले आधारभुत सेयरधनी बाहेकका सेयरधनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको लघुवित्तको सेयर कारोबार फुकुवा भएको नेप्सेले बताएको छ । आज बिहीबारदेखि लघुवित्तको सेयर कारोबार हुनेछ । नेप्सेमा लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१८.७० रुपैयाँ रहेको छ । यहि मूल्यका आधारमा बिहीबारदेखि सेयर कारोबार खुल्नेछ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गत असोज १४ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । एक्वायरको प्रकृया सुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो । हाल डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ र आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।
युनाईटेड इदीको १०.५२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीलेले सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर १५ गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल ायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते, बुधबार आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सेञ्चुरी बैंकको लाभांश घोषणा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच साउन १५ गते संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी पौष मसान्त भित्र एकिकृत कारोबार गर्ने गरी प्रक्रिया अगाडी बढेको सेञ्चुरी बैंकले जनाएको छ ।