३ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यो समय सेयरधनीहरुका लागि लाभांश सिजन हो । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत ५९ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ३ वटा लघुवित्तले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त, आरएसडिसी लघुवित्त, फष्र्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद गरी कूल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै, आरएसडिएसी लघुवित्त गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ । यस्तै, फष्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ । यी तीनै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
एशियन हाइड्रोपावरको आईपीओ मंसिर २७ देखि बिक्री हुँदै, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिनेछ । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
लाभांशसहित ८ एजेण्डा पारित गर्न नागरिक स्टकको साधारण सभा आज हुँदै
काठमाडौं । नागरिक स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुने भएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अथार्त २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र कम्पनीको २०७८ चैत्र ६ गते र २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्नेछ । कम्पनीको बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्न लगायतका प्रस्ताव पारित गर्ने छ । कम्पनीको सभाले विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।