युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा, आईपीओ जारी गर्ने
काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, सञ्चालक समितिले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ भने चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आव २०८१/८२ सम्म सञ्चालक समितिले गरेको काम कारवाही अनुमोदन गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्नु परे उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले अनुदान सम्बन्धी खर्च, सञ्चालकको बैठक भत्ता तथा सुविधा पारिच गर्नेछ । कम्पनीको अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा रहेका छन् भने कम्पनी सचिव रमेश दत्त पाण्डेय रहेका छन् ।
विदेशमा रहेका नेपालीले बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपाललाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यूनाइटेड अजोडले चैत २६ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।