अनुमति विना सञ्चालित वस्तु विनिमय बजार कम्पनीलाई कारवाही गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनीलाई कारबाही गर्ने भएको छ । सेबोनले एक सूचना प्रकाशन गरी सेबोनको अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याए गैर कानुनी हुने र कानुनी कारबाही गर्ने बताएको हो । ‘पछिल्लो समयमा कुनै संस्था तथा कम्पनीबाट वस्तु विनिमय बजार सम्बन्धी कारोबार भईरहेको भन्ने जानकारी प्राप्त भएको छ, यसमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ, वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ,’ बोर्डको सूचनामा उल्लेख छ । साथै, बिना अनुमति संचालित वस्तु विनिमय बजार तथा व्यवसायी मार्फत वस्तु विनिमय बजार सम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्ताहरुलाई बोर्डले आग्रह गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । बोर्डले हालसम्म वस्तु विनिमय बजारसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको बताएको छ । बोर्डले वस्तु विनिमय बजार संचालन गर्न पूर्व स्वीकृतिका लागि गत असोज २ मा निवेदन आह्वान गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालिन आदेशले सम्पूर्ण प्रकृया स्थगित रहेका छन् ।

मोलुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीको पुस १९ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत अर्थात् ३५ करोड ३१ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यदरका ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको मोलुङ्ग गाउपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत गरी १० प्रतिशत सेयर निष्काशन गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

सुपर मादी हाइड्रोको आईपीओमा पौने १२ लाख लगानीकर्ताको हात रित्तो !

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ लाख ५७ हजार ७४५ जना आवेदकले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको हो । कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको हो । कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । जसमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र ४२ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ७२ हजार ३ सय जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका ११ लाख ८३ हजार लगानीकर्ताको हात रित्तो हुने देखिन्छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।