मेन्छियाम हाईड्रोले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५३८ कित्ता आयोजना प्रभावित क्षेत्र संखुवासभाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र सािवक शिद्धकाली, शिद्धपोखरी र मावादानी गा.वि.स.का स्थानियहरुको लागि २ लाख ७१ हजार २९२ कित्ता र आयोजन प्रभावित क्षेत्र सुंखवासभा जिल्लाका स्थानियहरुका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर बिक्री गर्ने भएको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ९ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

तारागाँउ रिजेन्सी होटलको लाभांश आज पारित हुँदै

काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ । होटलको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक सुरेश राज जोशी, अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ, देवेश सराफ र श्रीबत्स शम्सेर ज.व.राणा र मनोज प्रसाद राजभण्डारीको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

आज २ कम्पनीको सेयर खरिद गर्याे भने ६५ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनले फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ, काठमांडौमा बिहान ११ बजे १९ औँ बार्षिक साधारणसभा बोलाएको छ । उपकार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चौँथो वार्षिक साधारण सभा फागुन १८ गते बाँकेमा बोलाएको छ ।