आज यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने

काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले फागुन २१ गते र डिप्रोक्स लघुवित्तले फागुन ३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न ८ औँ बार्षिक साधारणसभा चैत ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे बोलाएको छ । यस्तै, डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २०.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २१ औं वार्षिक साधारण सभा फागुन ३० गते सौराहा, चितवनमा बिहान ११ बजे बोलाएको छ ।

बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि निष्काशन, १ हजार कित्तासम्म खरिद गर्न पाइने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुपित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

२५५ प्रतिशतसम्म प्रतिफल दिने प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।