कुमारी बैंकले १२१ रुपैयाँमा साढे ७ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १२१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु जेठ २३ गते खोलिने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैंकको ऋणपत्र छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

पुँजी बजारलाई बजेट : सुबिधाभन्दा दुबिधा

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजारलाई बजेट सुबिधाभन्दा दुबिधा बढी रहेको बताएकी छिन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेका आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिकृया दिँदै उनले सो बताएकी हुन् । ‘क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलपट्टी मात्र लगाइएको छ। यसर्थ २०८०/०८१ को बजेट पुँजीबजारलाई ‘सुबिधा भन्दा दुबिधा’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।