आँखुखोला जलविद्युत कम्पनीलाई आयोगको कारवाही, घटाइदियो हकप्रद सेयर
काठमाडौं । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत् कम्पनीलाई कारवाही गरेको छ । आयोगले कम्पनीले पेश गरेको हकप्रद सेयर जारी गर्ने निवेदनमा आवश्यक कारवाही गरेको हो । कम्पनीले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहितको निवेदन आयोगमा पेश गरेको थियो । उक्त प्रस्तावलाई आयोगले कारवाही स्वरुप परिमार्जन गरी पठाएको छ । यससँगै कम्पनीले अब हालको चुक्ता पुँजीको १५० प्रतिशत अर्थात एक बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको सेयर जारी गर्ने छ ।
नेप्सेमा ३८.८३ अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक सात दशमलव २८, फ्लोट सूचक दुई दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय २८ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ३४ अङ्कले घटेको छ । बैंकिङ समूह १८ दशमलव ६७, विकास बैंक समूह ७० दशमलव १७, वित्त समूह ३४, होटल तथा पर्यटन समूह एक सय २५ दशमलव ७१ र जलविद्युत् समूह ६१ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह एक दशमलव ४८, उत्पादन तथा प्रशोधन एक सय ७२ दशमलव ९६, लघुवित्त ६३ दशमलव ०२, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार ३५ दशमलव ७३ र अन्य समूह २० दशमलव २० अङ्कले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने युनिलिभर नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर सेयर ३४ करोड २८ लाख १६ हजार एक सय २९ रुपैयाँ बराबरको २७ लाख ८७ हजार एक सय २३ कित्ता सेयर किनबेच भएको छ ।
युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघसवित्तले जेठ ११ गतेदेखि बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन हो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय अंकित मूल्य दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयर बिक्री खुला गरेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको संस्थाको कुल चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँको ९४.०१ प्रतिश अर्थात् संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५ सय रुपैयाँ र ५.९९ प्रतिश अर्थात् सर्वसाधारण समूहको ६६ लाख ३० हजार रकम बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम बिक्री गरेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।