सेबोन अध्यक्ष श्रेष्ठसँग लगानीकर्ताहरूको भेट, लगानीमैत्री बजारको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग तीनवटा लगानीकर्ता संघ संस्था सेयर लगानीकर्ता संघ, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा भेट गरी पुँजी बजार सुधारका लागि ठोस पहल गर्न आग्रह गरेका छन् । तीनै संघका पदाधिकारीले अध्यक्ष श्रेष्ठबाट पुँजी बजारमा पारदर्शिता, नियमन सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा सुधार हुने विश्वास गरे । संघहरूका प्रतिनिधिहरू  सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल, पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं, स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की र नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारको दीर्घकालीन विकास र लगानीकर्ताको हितका लागि सेबोनले सुरु गरेका पहलहरूप्रति सकारात्मक प्रतिक्रिया दिँदै पूर्ण समर्थन जनाए  । उनीहरूले पुँजी बजारलाई देशको आर्थिक मेरुदण्डको रूपमा विकास गर्न सन्तुलित नीति, प्रविधिको प्रभावकारी प्रयोग र सुदृढ नियमन प्रणाली आवश्यक रहेको बताए । आईपीओ निष्कासन प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने, कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको प्राथमिक निष्कासन प्रस्ताव पुनरावलोकन गर्नुपर्ने, हाइड्रोपावरलगायत परियोजनामा संस्थापक सेयर बिक्रीको अनियन्त्रित प्रवृत्तिमा रोक लगाउनुपर्ने माग गरेको लगानीकर्ता रौनियारले बताए । सेयर बजारमा भइरहेको सूचनाको दुरुपयोग र अन्य अनैतिक क्रियाकलापमा कडाइ गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्दा नियमन र सुपरीवेक्षण प्रणाली मजबुत बनाउनुपर्ने सुझाव दिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले लगानीकर्ताहरूको धारणापछि बोर्ड लगानीकर्ताको विश्वास जित्न सक्ने वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए । उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनामार्फत पुँजी बजार सुधार र विस्तारमा काम अघि बढाइने जानकारी गराएका छन् । संघ-संस्थाहरूले सेबोनको नेतृत्वले नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार नीति निर्माणमा समेत सहकार्य गर्न तयार रहेको पनि बताए ।  

दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्काशन गर्न स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो । धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस आईपीओको विक्रि प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै शेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँड विधि लगायतका विवरण सार्वजनिक सूचनामार्फत जानकारी गराउनेछ ।

ट्रेड टावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८।६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।