सफल उद्यमीहरूले नपत्याएको पुँजीबजार

आधुनिक व्यापारमा सफल उद्यमी मीनबहादुर गुरुङले नेतृत्व गरेको भाटभटेनीसहितका कुनै पनि कम्पनी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत छैनन् । हवाई सेवा क्षेत्रमा सफल उद्यमी वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरलाई नेप्सेमा सूचीकृत गर्ने योजना बनाएका छैनन् । अटोमोबाइल क्षेत्रमा सर्वाधिक राम्रो गरिरहेका सिद्धार्थ शमशेर राणाले सिप्रदीलाई नेप्सेमा सूचीकृत गर्न जरुरी ठानेका छैनन् । चार पाङ्ग्रे सवारी एसेम्बल उत्पादन थालेका लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ वा दुई पाङ्ग्रे सवारी एसेम्बल उत्पादनमा सफलता चुमेका शेखर गोल्छाले आफ्‌नो कम्पनी नेप्सेमा सूचीकृत गर्न आवश्यक ठानेका छैनन् । न विनोद चौधरीले वाईवाई उत्पादक कम्पनी सीजी फुड्सलाई नेप्सेमा सूचीकृत गर्न आवश्यक ठाने, न मनकामना केबुलकारका राजेशबाबु श्रेष्ठले आफ्‌नो कम्पनी नेप्सेमा सूचिकृत गर्न आवश्यक ठानेका छन् । द्वारिका, मेरियट, याक एण्ड यति जस्ता ठूला र मनग्य पैसा कमाईरहेका होटलहरु पनि नेप्सेमा आएका छैनन् । हिमाल, हामा, पञ्चकन्य जस्ता प्रिमियम मूल्यका बिक्री भईरहेको स्टील उत्पादन गर्ने कम्पनीहरु बैंकको ऋण बोक्न तयार छन्, विना लगानीको पैसा पुँजीबजारबाट उठाउन तयार छैनन् । सिमेन्ट बजारमा राज गरिरेका होङ्सी, मारुती, जगदम्बा जस्ता कम्पनीहरूले पब्लिकलाई सेयर बेच्न आवश्यक ठानेका छैनन् । सूचना प्रविधिको क्षेत्रमा राम्रो गरिरहेका एनसेल, वल्डलिङक, एफवान सफ्ट जस्ता कम्पनी बैंकको ऋण बोक्न तयार छन्, सेयर बेच्न तयार छैनन् । फुटबेयर बजारमा गोल्डस्टारका मालिक अमिरप्रताप राणाको राजकीय शान छ । ह्याचरी उद्योगमा अभिनाशका मालिक गुणचन्द्र विष्टको राजकीय शान छ । मदिरा बजारमा जाउलाखेल डिस्ट्रिलरीका मालिक राजबहादुर शाहको त्यस्तै शान छ । उनी हरेक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यवसायीका रुपमा सरकारबाट सम्मानित भईरहेका छन् । उनीहरूलाई पुँजीबजारप्रति कुनै आकर्षण छैन । सूर्य नेपाल, डावर नेपाल, गोर्खा ब्रुअरी जस्ता सर्वाधिक नाफा गरिरहेका कम्पनीहरूलाई नेपाल सरकारले पुँजी बजारमा उभ्याउन सकेको छैन । चन्द्र ढकालले लगानी गरेका कम्पनीहरू जसरी पुँजी बजारमा आइरहेका छन् त्यसरी नै उमेश श्रेष्ठ, सुलभ बुढाथोकी, राजेश अग्रवाल लगायत व्यवसायमा चम्किएका उद्यमीहरूलाई पुँजीबजारमा सरकारले आकर्षित गर्न सकेको छैन, जसले बजारमा नयाँ सिर्जना सँगै प्रशस्त पुँजी निर्माण गरिरहेका छन्, मनग्य नाफा आर्जन गरिरहेका छन् ।  हो, नेपालको पुँजी बजारको इतिहास छोटो छ । हामीले भर्खरै तीन दशक पार गरेका छौं । र, पनि झण्डै देशको जीडीपीको नजिक अर्थात ४५ खर्बको पुँजी बजार बनेको छ । १५ अर्ब कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । ६८ लाख भन्दा बढी अर्थात जनसंख्याको करिब २३ प्रतिशत मानिस पुँजी बजारमा जोडिएका छन् । २४९ वटा कम्पनीको सेयर कारोबार नियमित छ । लगानीकर्ताको लागि पुँजी बजारमा ३६० प्रकारका लगानीका उपकरण छन् । स्टक ब्रोकर, मर्चेन्ट बैंकर्स लगायत पुँजी बजारका सेवा प्रदायकहरूको संख्या पनि उल्लेख्य छ ।  बजारमा थुप्रै बेथितिहरू छन् । नेप्सेमा सूचीकृत भएर पनि २०५ वटा कम्पनी डिलिस्टेड भएका छन् । २४ वटा कम्पनी निलम्बनमा परेका छन् । ती कम्पनीमा गरिएको लगानी माटो भएको छ । खराब वित्तीय अवस्था भएका कम्पनीहरूलाई पुँजी बजारमा सहज प्रवेश सुविधाले धेरै समस्या सिर्जना गरेको छ । पुँजीबजार प्रतिको विश्वास डगमगाउने जोखिम बढ्दो छ । सेयर बजारमा गरिएको लगानी डुबेर आत्महत्या गर्नेको समाचार बारबार प्रकाशनमा आएका छन् । सेयर बजारमा लगानी डुबेर रुवाबासी हुने, घर परिवारमा भाँडभैलो हुनेका अप्रकाशित कथाहरू पर्दा पछाडि धेरै छन् । त्यसो त पुँजी बजार गुमाउने खाल मात्र होइन, यहाँ कमाउनेहरू पनि प्रशस्त छन् । सेयरबाट घर गाडी जोड्नेहरूको कथा त दशौं हजार होलान् । अम्बिका पौडेल, बालकृष्ण श्रेष्ठ, सन्दीप जलान लगायत सयौं व्यक्ति सेयरबाट कमाएर उद्योगमा लगानी गरेर सफल उद्यमीको रूपमा स्थापित पनि भएका छन् । अवसरका दायरा विस्तार गर्ने, जोखिमहरूलाई न्यूनीकरण गर्दै, आर्थिक लाभको पर्यायको रूपमा पुँजी बजारको विकासमा सबैको ध्यान जानुपर्छ ।

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, सेयर बजारमा उछाल

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।   रोजगारी प्रतिवेदनले आशा देखायो अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी  मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ । आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ । रासस

होटल गरिमा र एनआईएमबी एस क्यापिटलबीच आईपीओको रोडम्याप सम्झौता

काठमाडौं । पूर्वी नेपालमा आतिथ्य सत्कार क्षेत्रमा क्रियाशील इटहरीस्थित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीका सञ्चालक संस्था होटल गरिमा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ प्रक्रियालाई अघि बढाउँदै एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्यमा सम्झौता गरेको छ । सम्झौतामा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले औपचारिक हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई आईपीओको तयारी, नियामक निकायहरूसँग समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणका लागि आवश्यक परामर्श र सहयोग प्रदान गर्नेछ । हस्ताक्षरपछि प्रबन्ध निर्देशक पौडेलले यो सम्झौताले होटल गरिमा लिमिटेडको पूँजी बजारमा प्रवेशको यात्रा प्रारम्भ गरेको बताए। उनले पारदर्शिता, लगानी विस्तार, र व्यावसायिक उत्कृष्टता मार्फत आतिथ्य क्षेत्रको समृद्धिमा टेवा पुर्याउने विश्वास पनि व्यक्त ग रे। एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ ढुंगानाले भने, होटल गरिमाको आईपीओ यात्रा सफल बनाउने गरी सम्पूर्ण प्राविधिक मार्गदर्शन, रणनीतिक सल्लाह र विशेषज्ञता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । आईपीओ प्रक्रिया सुरु गर्नु होटल गरिमाको दिगो विकास, संस्थागत पारदर्शिता, र आम लगानीकर्ताको आकर्षण सुनिश्चित गर्ने दृष्टिकोण अनुसारको महत्वपूर्ण पाइला भएको कम्पनीले बताएको छ ।  यस प्रयासबाट कोशी प्रदेशको आतिथ्य र पर्यटन क्षेत्रमा लगानी अवसरको विस्तार साथै नेपालको पूँजी बजारमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।