एआईयुक्त कृत्रिम हातखुट्टा नेपालमा, अङ्ग गुमाएकालाई नयाँ आशा
काठमाडौं । दुर्घटना, रोग वा अन्य कारणले हातखुट्टा तथा शरीरका अन्य अङ्ग गुमाएका व्यक्तिका लागि अत्याधुनिक एआई (कृत्रिम बौद्धिकता) प्रविधियुक्त कृत्रिम अङ्ग नेपालमै उपलब्ध भएको छ । भारतीय कम्पनी पी एन्ड ओले आफ्नो नेपाली साझेदार कम्पनी रिजोइस एन्ड रिलिफ प्रालिसँगको सहकार्यमा नेपालमा पहिलोपटक एआई सेन्सरयुक्त तथा रोबोटिक प्रविधिमा आधारित कृत्रिम अङ्गको सेवा सुरु गरेको जनाएको छ । रिजोइस एन्ड रिलिफ प्रालिका अध्यक्ष कृष्णराज गैरेका अनुसार नेपालमा यसअघि सामान्य कृत्रिम हातखुट्टा उपलब्ध भए पनि कृत्रिम बौद्धिकता र सेन्सर प्रविधिमा आधारित उन्नत कृत्रिम अङ्ग पहिलोपटक उपलब्ध गराइएको हो । कम्पनीका निर्देशक डा. नीरज सक्सेनाका अनुसार यस्ता कृत्रिम अङ्गमा जडान गरिएका स्मार्ट सेन्सरले प्रयोगकर्ताको मांसपेशी तथा स्नायुद्वारा आउने सङ्केतलाई पहिचान गरी अङ्ग सञ्चालन गर्न सहयोग गर्छन् । कम्पनीले आफूहरू एआई प्रविधि, ओसियोइन्टिग्रेसन, रोबोटिक हात तथा इन्टेलिजेन्ट सेन्सरयुक्त कृत्रिम अङ्गको क्षेत्रमा काम गरिरहेको जनाएको छ । उनका अनुसार कृत्रिम हात वा खुट्टा शरीरमा जडान गरेपछि त्यसमा रहेका सेन्सरले प्रयोगकर्ताको न्युरो–मस्कुलर प्रणालीबाट प्राप्त सङ्केतलाई विश्लेषण गर्छन् । त्यसपछि एआई प्रणालीले ती सङ्केतलाई बुझेर हात खोल्ने, बन्द गर्ने, वस्तु समात्ने, हिँड्ने वा सन्तुलन कायम गर्ने जस्ता गतिविधिमा सहयोग पुर्याउँछ । विशेषगरी मायोइलेक्ट्रिक प्रविधिमा आधारित कृत्रिम हातले मांसपेशीबाट उत्पन्न हुने विद्युतीय सङ्केतका आधारमा काम गर्ने भएकाले प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार विभिन्न गतिविधि गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नेपालमा उपलब्ध गराइएका सेवाअन्तर्गत माथिल्लो तथा तल्लो अङ्गका कृत्रिम हातखुट्टा, मायोइलेक्ट्रिक हात, रोबोटिक तथा मल्टी–आर्टिकुलेटिङ हात, कृत्रिम औँला, बालबालिकाका लागि विशेष कृत्रिम अङ्ग तथा खेलकुदका लागि प्रयोग हुने उन्नत कृत्रिम खुट्टासमेत रहेका छन् । यस्ता कृत्रिम अङ्ग जडान गर्नुअघि बिरामीको स्वास्थ्य अवस्था, अङ्ग काटिएको भाग, शारीरिक बनावट तथा आवश्यकताको विस्तृत मूल्याङ्कन गरिने डा. सक्सेनाले जानकारी दिए । त्यसपछि थ्रीडी स्क्यानिङ तथा डिजिटल मापन गरेर व्यक्तिगत रूपमा मिल्ने सकेट तयार गरी कृत्रिम अङ्ग जडान गरिन्छ। जडानपछि प्रयोगकर्तालाई विशेष तालिमसमेत प्रदान गरिन्छ । डा. सक्सेनाले भारतीय सेनाका घाइते सैनिक तथा अङ्ग गुमाएका व्यक्तिलाई समेत कम्पनीले उन्नत कृत्रिम अङ्ग उपलब्ध गराउँदै आएको जानकारी दिए। कम्पनीले सन् १९९० को दशकदेखि कृत्रिम अङ्ग तथा अर्थोटिक सेवामा काम गर्दै आएको जनाएको छ । विज्ञहरूका अनुसार एआई र सेन्सरयुक्त कृत्रिम अङ्गले प्रयोगकर्तालाई दैनिक जीवनमा बढी स्वतन्त्र बनाउन, आत्मविश्वास बढाउन तथा रोजगार र सामाजिक गतिविधिमा सक्रिय हुन महत्त्वपूर्ण सहयोग पुर्याउन सक्छ । पछिल्ला अध्ययनहरूले स्पर्श तथा सेन्सरमा आधारित फिडब्याक प्रणालीले कृत्रिम अङ्ग प्रयोगकर्ताको नियन्त्रण क्षमता र कार्यसम्पादनमा सुधार ल्याउने डा. सक्सेनाले जानकारी दिए ।
भारतीय पर्यटकले भरिभराउ पोखरा, होटलको अकुपेन्सी ९० प्रतिशत पुग्यो
काठमाडौं । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि पोखराका होटल भरिभराउ भएका छन् । यतिबेला लेक साइडका सडक र वाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए । पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ । फेवातालमा दिनहुँ चार–पाँच हजार भारतीय पर्यटककले डुङ्गा सयर गर्ने गरेको जानकारी फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले बताए । डेढ महिनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रुचि राख्ने गरेको उनको भनाइ छ । ‘दिनभरि ताल छेउमा डुङ्गा कुरी बेलुका रित्तो हात घर जानुपर्ने बमाध्यता भारतीय पर्यटक बढेसँगै हटेको छ,’ सहसचिव विकले भने, ‘अहिले बाराही घाटबाट मात्र दिनहुँ १ सय ४० डुङ्गाहरु चलायमान छन् ।’ टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाले पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धर्मिकस्थल, छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, वन्जिजम, डुङ्गा सयर तथा ¥याफ्टिङ गर्ने गरेको बताए । भारतीय पर्यटक यतिबेला पाँच तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताए । भारतीय पर्यटकले कोठामा भन्दा पनि खानामा बार्गेनिङ गर्ने गरेको कुरा होटल व्यवसायी पार्वती पाण्डेले सुनाइन् । भारतमा होटलका रुम महंगा हुने भएकाले रुममा उनीहरू खासै बार्गेनिङ गर्दैनन् । पोखरामा होटल भारतीय पर्यटकले धानिएको बताउँदै नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रका बारेमा भारतमा प्रचारप्रसार गर्न सके नेपालमा भारतीय पर्यटक खचाखच हुने उनको भनाइ छ । पर्यटन व्यवसायीले यो मौसमलाई ‘अफसिजन’का रुपमा लिने गरेको भए पनि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित बनेका छन् । नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकीय रुपमा चहलपहल भएको पोखरामा एक महिनाको समयावधिमा पोखरामा मात्रै डेढ लाख भारतीय पर्यटक भित्रिएका तथ्याङ्क पर्यटन व्यवसायीसँग छ । यहाँका होटलको ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरू बताउँछन् । विशेषगरी उनीहरू तालबाराही मन्दिर, पुग्दीको शिवमन्दिर, केदारेश्वर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना मन्दिरमा जाने गर्छन् । नेपालमा आउने पाहुनाको माया गर्नु हामी सबैको कर्तव्य हो । नेपालीहरु पनि भारतको धार्मिक मठमन्दिरमा जाँदा होटलमा भन्दा पनि बाहिर नै पकाएर खाने गर्छन् । पोखरामा एकै दिन १० हजार पर्यटक अटाउन सक्ने क्षमता होटलमा छ ।
डाक्टरलाई बिरामीको प्रश्न- क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
काठमाडौं । ‘डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?’, ‘क्यान्सर निको भएपछि फेरि दोहोरिने सम्भावना कति हुन्छ ?’, ‘उपचारपछि पहिलाजस्तै सामान्य जीवन बिताउन सकिन्छ ?’ यी जिज्ञासा क्यान्सरलाई पराजित गरी सामान्य जीवन बिताइरहेका तथा उपचाररत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसेसमक्ष राखेका हुन् । सूर्यविनायक नगरपालिकाले नेपाल क्यान्सर सर्भाइभर सोसाइटीको समन्वयमा आयोजना गरेको क्यान्सरसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सर सर्भाइभर, उपचाररत बिरामी तथा उनीहरूका परिवारका सदस्यहरूले आफ्ना अनुभव र जिज्ञासा विशेषज्ञसँग साटासाट गरेका थिए । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निर्देशकसमेत रहेका डा. चालिसेले क्यान्सर समयमै पहिचान गरी उपचार गरे निको हुने बताए । उनले रोग चौथो चरणमा पुगेपछि उपचार जटिल हुने भए पनि नियमित उपचार र चिकित्सकीय निगरानीमा रहे धेरै बिरामीले सामान्य जीवनमा फर्किन सक्ने बताए । उनले क्यान्सर निको भएपछि चिकित्सकको सल्लाहअनुसार गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सकिने स्पष्ट पार्दै रोग लागेपछि आत्तिनुभन्दा नियमित उपचार र फलोअपमा ध्यान दिनुपर्नेमा जोड दिए । गाउँगाउँसम्म क्यान्सरसम्बन्धी सचेतना विस्तार गर्न पनि उनले आग्रह गरे । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले क्यान्सरलाई जितेर सामान्य जीवन बिताइरहेका व्यक्तिहरूको अनुभवले उपचाररत बिरामीमा आशा र आत्मविश्वास जगाउने बताइन् । यस्ता कार्यक्रमले सर्भाइभरबीच अनुभव आदानप्रदानका साथै परिवार, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले क्यान्सरलाई केवल शारीरिक रोगका रूपमा मात्र नभई मानसिक, सामाजिक र आर्थिक पक्षसँग जोडिएको समस्याका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य शाखा प्रमुख वसन्त चौलागाईंका अनुसार सूर्यविनायक नगरपालिकाको अभिलेखअनुसार हाल करिब २४० जना क्यान्सरबाट प्रभावित व्यक्ति विभिन्न प्रकारका सहायता तथा सेवाबाट लाभान्वित हुँदै आएका छन् ।