१२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए, भारतबाट सबैभन्दा धेरै आगमन
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्कअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका (१ लाख ११ हजार ३२५) दोस्रो तथा चीन (१ लाख ९ हजार ८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् । त्यसपछि बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ । आर्थिक वर्ष २०८२/८३ मा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न सहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी समग्र अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रसबोर्डर पर्यटन मार्ट तथा मेलाहरू आयोजना गरिएको थियो । यसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताएका छन् । उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट सङ्केत गरेको छ । प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ ।’ निमित्त कार्यकारी प्रमुख ऐरले चीनमा पर्यटक आगमनको सम्भावना अत्यन्त ठूलो रहे पनि त्यस बजारमा लक्षित प्रवर्द्धन र व्यवसाय–व्यवसाय (बीटुबी) सम्पर्क विस्तार गर्न सेल्स मिसन लाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘चीनसहित अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारमा हाम्रो उपस्थिति अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय स्तरमा नियमित सेल्स मिसन सञ्चालन गर्न आवश्यक छ । पर्यटन प्रवर्द्धनलाई परिणाममुखी बनाउन आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा नेपाल पर्यटन बोर्ड अघि बढिरहेको छ ।’ नेपाल सरकारले यस वर्ष आरोग्य पर्यटन वर्ष २०२७ घोषणा गरेको उल्लेख गर्दै निमित्त कार्यकारी प्रमुख ऐरले चालु आर्थिक वर्षमा पर्यटक आगमन सङ्ख्या थप वृद्धि हुने अपेक्षा गरिएकोसमेत जानकारी गराएका छन् । नेपाल पर्यटन बोर्डले आगामी दिनमा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने जनाएको छ ।
गाभीले नेपालसँग ३ लाख ८ हजार डलर फिर्ता नमाग्ने
काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो । गाभीले नेपाललाई पठाएको पत्रमार्फत विश्वस्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ । साथै, भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख छ । गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराइसकेको छ । उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन (खोप भण्डारण तथा ढुवानी प्रणाली) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियानलगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ । नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभी सहयोगमा सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्ने क्रममा सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो । उक्त लेखापरीक्षणले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो । लेखापरीक्षण टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो । प्रारम्भिक लेखापरीक्षणपछि आवश्यक वित्तीय कागजात तथा अभिलेख सङ्कलन गरी पुनःपरीक्षणको अनुरोध गरिएको थियो । त्यसअनुसार गाभीको लेखापरीक्षण टोली सन् २०२४ अप्रिल २२ देखि मे १ सम्म पुनःनेपाल आएर ‘फलोअप’ लेखापरीक्षण सम्पन्न गरेको थियो । पुनःपरीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै तीन लाख आठ हजार २७१ अमेरिकी डलर सम्बन्धमा नेपालको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो । यस विषयलाई समाधान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व स्वास्थ्य सभाका क्रममा गाभीका प्रमुखहरूसँग प्रत्यक्ष छलफल गरेका थिए । यसपछि ४ जुन २०२६ मा समाधानको प्रस्तावसहित औपचारिक पत्राचार गरिएको थियो । सोही छलफल र निरन्तर समन्वयपछि गाभीले नेपालले प्रस्तुत गरेको प्रस्ताव स्वीकार गर्दै उक्त रकम फिर्ता नमाग्ने तथा गाभी ६.० अन्तर्गत नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो । गाभीले आफ्नो पत्रमा राष्ट्रिय खोप कार्यक्रमप्रतिको प्रतिबद्धता, खोप सेवाको विस्तार, वित्तीय व्यवस्थापन, लेखापरीक्षणका सुझावको समयमै कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा सुधारका लागि चालिएका प्रयासको प्रशंसा गरेको छ । साथै, नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सम्बन्धित निकायका अनुसार उक्त निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन र आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
ह्याम्स अस्पतालले सेयरधनीलाई नगद लाभांश दिने, आईपीओ जारी गर्ने
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न ह्याम्स अस्पतालले साउन २४ गते दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग सम्बन्धी प्रस्तावमा छलफल हुने जनाएको छ । साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार संशोधन, परिमार्जन वा सच्याउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र गत आर्थिक वर्षमा सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।