तथ्यांक कार्यालयले माग्यो ४ हजार ४३९ जना जनशक्ति, मासिक ३४ हजारसम्म तलब

काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै करिब ४ हजार ४३९ जनालाई करारमा भर्ती गर्ने जनाएको छ । देशभर आर्थिक गणना सञ्चालन गर्न स्थलगत तथ्यांक सङ्कलन र सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनु पर्नेछ भने गणक पदका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । रोजगारी अवधि करिब साढे दुई महिनाको करारका लागि हुनेछ । सेवा सुविधाअनुसार सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने जानकारी कार्यालयले दिएको छ । योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । आवेदन प्रक्रिया राष्ट्रिय तथ्यांक कार्यालयको आधिकारिक वेबसाइट वा प्रदान गरिएको क्यूआर कोडमार्फत पूरा गर्न सकिनेछ । कार्यालयले म्याद नाघेका वा पूर्ण नभएका दरखास्तमा कुनै कारबाही नहुने स्पष्ट पारेको छ ।

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौं । एशिया बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा नियुक्त भएकी छन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव भएकी राजभण्डारीले बैंकको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेकी थिइन् । एनआईसी एशिया बैंकले नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ ।  

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए शपथ

काठमाडौं ।  नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा  बुधबार आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको गत पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।