नेपाली देशमा काम नपाएर कालापहाड पुग्छन्, भारतीय नेपाल आउँछन्
वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, दिल्ली लगायतका ठाउँमा पुग्ने नेपाली कामदार त्यहाँ खेतीपाती, सडकको काम तथा नोकरी गर्ने गरेका छन् भने भारतीय नागरिकका लागि नेपाली बजार सुलभ व्यवसाय गरिने थलोका रुपमा विकसित हुने गरेको छ । सीमावर्ती भारतीय बजार तथा गाउँबाट दैनिक एक हजारभन्दा बढी भारतीय वीरगन्जबजारमा आई किराना पसल, चिया पसल, खाजा पसल, तरकारी व्यापार लगायतका व्यवसाय गरी साँझपख मोटो रकम लिई आफ्नो घर भारत फर्किने गरेको उनीहरुको दिनचर्या रहेको छ । भारतीय व्यापारीले दैनिक १० लाखभन्दा बढीको व्यापार गरेका छन् भने नेपाली कडा परिश्रम गर्न कालापहाड जाने गरेका छन् । कामको खोजीमा कालापहाड जाने भनी पर्सा, बारा, रौतहट, मकवापुर, चितवन लगायतका ग्रामीण क्षेत्रका युवा भारत जाने गरेका छन् भने भारतका विभिन्न ठाउँमा करिब ६ महिना काम गरी स्वदेश फर्किने गर्दछन् । तर सीमापारि भारतबाट आउने फुट्कर व्यापारीले विभिन्न मौसम अनुसारको व्यापार गरी आर्थिक लाभ लिँदै आएका छन् । उनीहरु फुट्कर व्यापारबाहेक सिकर्मी, डकर्मी, सिरक, डसना बनाउनाका साथै ढुङ्गा, माटोका काम, घर बनाउने, रङ लगाउने जस्ता काम गर्दछन् । “कामको खोजीमा भारत कालापहाड जानुभन्दा आफ्नै देशमा सुन फलाउन सकिन्छ”, मीनाबजारका व्यापारी माधवप्रसाद गुप्ता भन्छन्–“विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना चुहाएर मनग्य आम्दानी गर्न सकिन्छ ।” सीमापारि भारतबाट कामको खोजीमा वीरगन्ज आउने कामदार व्यापार गर्नुका साथै यहाँका कलकारखानामा समेत काम गर्ने गरेका छन् । यहाँ आधाजसो काम गर्ने त भारतीय नै छन् । मीना बजारका अर्का व्यापारी वीरेन्द्रप्रसाद साह भन्नुहुन्छ, “भारतीय सजिलो तरिकाले वीरगन्जमा आएर व्यापार गर्छन् तर नेपाली कामका लागि कालापहाड जानु दुखद हो । ती व्यापारी वीरगन्जका कुनाकाप्चा, टोलगल्लीमा गई सिरक, डसना बनाउने र आर्थिक लाभ लिने गर्छन् तर नेपाली भने अन्यत्र जान्छन् । आफ्नो गाउँसहरमा मिहेनत गरी सुन फलाउन सकिन्छ ।” रासस
अष्ट्रेलियाका महिलाको कमाई पुरुषको भन्दा २३ प्रतिशत कम, ६ जना कार्यकारी मध्ये १ जना मात्र महिला
क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष सकिन लागेको यस समयसम्म पनि महिलाले औसतमा पुरुषले भन्दा २० हजार डलर कम कमाई गरेका छन् । करिब १२ हजार अष्ट्रेलियाली रोजगारदाता र चालिस लाख कामदारहरुमा गरिएको अध्ययनले यस्तो देखाएको सो संस्थाले जनाएको छ ।लैङ्गिक समानता सम्बन्धी संस्थाका निर्देशक लिब्बी लिओनस्ले “पूर्वाग्रह र विभेद” का कारण महिला र पुरुषको आम्दानीमा अन्तर परेको बताए । “तर मलाई लाग्छ, यहाँ केही सकारात्मक संकेतहरु पनि छन्,” उनले भने। उनका अनुसार अघिल्ला बर्षहरुको भन्दा यस बर्ष आम्दानीको अन्तर भने धेरै घटेको छ । यस बर्ष १.६ प्रतिशत घटेको उनले बताए । अष्ट्रेलियन ब्रोडकाष्टिङ कर्पोरेसन (एबीसी) सँग निर्देशक लिब्बीले भने, “समानतामा पुग्न हामी अझ धेरै हिड्न बाँकी छ ।” “अहिलेसम्म पनि ६ जना प्रमुख कार्यकारी अधिकृत मध्ये ५ जना पुरुष नै छन् र चार जना निर्देशक मध्ये तीन जना पुरुष छन्” उनले जानकारी दिए । निर्देशक लिब्बीले यो अन्तरको अन्त्य गर्न व्यवस्थापनको क्षेत्रमा महिलाहरु शसक्त रुपमा आईरहेको बताए । उनले भने “यहाँ अर्को पनि प्रेरणाको तथ्य छ, त्यो के भने यस बर्ष पहिलो पटक ४२ जना महिलाहरुले व्यवस्थापकीय जिम्मेबारी पाउने गरी नियुक्ती तथा पदोन्नती भएको छ । एजेन्सी
६ महिना भित्र ११४५० युवालाई रोजगारी उद्योग मन्त्रालयको तयारी
काठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको हो । उद्योग मन्त्री नविन्द्रराज जोशीले ६ महिनाभित्रै सो मात्रामा युवाहरुलाई रोजगारी दिने गरि कार्यक्रम तयार भैरहेको बताए । उनका अनुसार सुरुमा ४५ दिने तालिम सञ्चालन गरिनेछ भने त्यसपछि अर्काे ४५ दिने दोश्रो चरणको तालिम सञ्चालन गरिनेछ । सो तालिममा सहभागीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्नेछन् भने स्वरोजगार बन्न पनि सक्नेछन् । ‘हाम्रो तालिममा सहभागीहरुले सहजै रोजगारी पनि प्राप्त गर्नेछन र स्वरोजगार बन्न पनि सक्नेछन’, मन्त्री जोशीले भने । मन्त्रालयले रोजगार बन्ने भन्दा पनि तालिमपछि स्वरोजगार बनेर अन्यलाई समेत रोजगारी दिन सक्ने गरि उद्यमी तयार पार्ने योजना अघि सारेको पनि उनले बताए । अघिकतम ९० दिनको तालिमका सहभागीहरुलाई भएर तयार पारिएको जनशक्तिका लागि रोजगारीको कुनै पनि अभाव नहुने दावी उनले गरे ।‘तालिम लिएपछि कोहि पनि बेरोजगार बस्नु पर्दैन, जागिर पनि पाइन्छ र आफैं रोजगारदाता पनि बन्न सकिन्छ’,मन्त्री जोशीले भने । तालिममा सहभागीहरुलाई रोजगार दिन सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायी तयार रहेको पनि उनले दावी गरे । तालिम लिएका अधिकांश युवा विदेशीने गरेको विगत सुनाउँदै मन्त्री जोशीले नेपालमै रहने वातावरण समेत सरकारले बनाउने बताए । यी हुन रोजगारी पाइने क्षेत्र मेटल फेब्रिकेशन, नुडल्स, फर्निचर, उनी तथा फेल्ट, नेपाली गलैँचा, प्राकृतिक रेसा तथा हाते कागज, बेमौसमी तरकारी, पुष्प व्यवसाय, कपाल काट्ने, बेकरी तथा दुध प्रसोशन, अल्लो, मिथिला आर्ट, मोबाइल मर्मत, मौरी पालन, ढाकाको कपडा र थाङका लगायतका क्षेत्रको तालिम दिइनेछ ।