पूर्वसञ्चारमन्त्रीकै गाउँमा मोबाइल नचलेपछि शिवाकोटीले भने- सुरीमा टावर ठड्याउने मेरो पहिलो काम हुनेछ

चरीकोट । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका उम्मेदवार पार्वत गुरुङको आफ्नै गाउँमा टेलिफोन टावर ल्याइदिने प्रतिबद्धता जनाएका छन् ।  चुनावी अभियानका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर ५, सुरी पुगेका शिवाकोटीले त्यहाँ मोबाइल नेटवर्कको गम्भीर समस्या भोगेपछि संसद भएर गएपछि यो प्रतिबद्धता पूरा गर्ने वाचा गरेका हुन् । सुरी पुग्दा आफ्नो गाडीमा केही समस्या आएको र पछाडि छुटिरहेका साथीहरूलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा नेटवर्क नभएर फोन नलागेको अनुभव उनले सुनाए ।  शिवाकोटीले भने, ‘हामी यात्रामा थियौं, गाडी कहाँ छ भनेर बुझ्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन । यस्तो ठाउँमा सञ्चारको यो हालत देख्दा मलाई अचम्म लाग्यो ।’ स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरले यहाँ काम गर्दैनन् । नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।  उनले भने, ‘यहाँ चाहिँ चारैपट्टी डाँडा छ । हनुमन्ते डाँडाँको नेटवर्कले भ्याउनुपर्ने कि चरीकोटकोले भ्याउनुपर्ने समस्या छ । कहीँ टावर वरपर देखिँदैन । त्यो समस्याले गर्दा टावर पनि छैन । हाम्रो मोवाइलमा नेटवर्क नै आउँदैन । हामीले नेटवर्क कहाँ छ भनेर खोज्न जानुपर्ने अवस्था छ ।’ एक वृद्धाले हातमा मोबाइल बोकेर गीत सुन्न मात्रै ठिक्क भएको भन्दै नेटवर्क आक्कलझुक्कल मात्रै आउने सुनाइन् । अर्का स्थानीयले सञ्चार मात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको गुनासो गरे । गौरिशंकर वडा नम्बर ५ सुरी पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको आफ्नो गाउँ हो । तर सञ्चारमन्त्री भैसकेको मानिसको गाउँमै टेलिफोनको असुविधा, नेटवर्कका कारण संचार सम्पर्क नहुने अवस्था छ ।  सञ्चार मन्त्रालय सम्हालिसकेका व्यक्तिकै गाउँमा अहिलेसम्म टेलिफोनको असुविधा हुनु दुःखद रहेको शिवाकोटीले बताए । उनले भने, ‘म प्रतिनिधि सभाको उम्मेदवार छु । म जितेर गएपछि गर्ने पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुनेछ । म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्ष यहाँ टावर ठड्याउने छु। यो मेरो प्रतिबद्धता हो ।’

६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक खाता

काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्नको लागि हालसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । कुल ३ हजार ४ सय ६ जना उम्मेदवारमध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उम्मेदवारको करिव २० प्रतिशत हो ।  राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।  हाल देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । उम्मेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनले बताए । उनका अनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो ।  बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।  वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षा अनुसारको नै सहयोग गरेको उनको भनाइ छ ।  उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन लगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको पनि जानकारी दिए ।  यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनको भनाइ छ ।  उनका अनुसार आयोगले गरेको छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको थियो । 

बुद्धिजीवीहरू भन्छन्– नीति र नेतृत्व परिवर्तनले कांग्रेसमा नयाँ आशा जागेको छ

काठमाडौ । पेशाकर्मी तथा बुद्धिजीवीहरुले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन् । उनीहरूले कांग्रेसले अपेक्षाअनुसार नीति तथा नेतृत्व परिवर्तन गरेको भन्दै यसले आशा जगाएको बताए । उनीहरूले यसका लागि नेतृत्व गरेको भन्दै महामन्त्री प्रदीप पौडेललाई धन्यवाद समेत दिए ।  पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री पौडेलबाट अब देशले गति लिने विश्वास  उनीहरूले गरेका छन् । उनीहरूले काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका पौडेललाई शुभकामना पनि दिएका छन्। कार्यक्रममा पूर्वमन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए । त्यस्तै, पूर्वराजदूत शम्भुराम सिम्खडाले अहिले कांग्रेसबाट आशा गर्न सकिने भन्दै आशा दिन सक्ने व्यक्ति महामन्त्री पौडेल भएको बताए । अर्थशास्त्री डा. पोषराज पाण्डेले कांग्रेसबाट परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै शुभकामना दिए । कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए । बुद्धिजीवी तथा पेशागत समूहद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले समाजमा योगदान दिने जो कोही आउन मिल्ने बनाइने बताए ।