पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण सम्पन्न भएको छ । व्यापारिक घराना एमएस समूहको लगानीमा निर्माण भएको होटलको भौतिक पूर्वाधार सम्पन्न भएको हो । कुल एक अर्ब ८५ करोड रुपैयाँ लागतमा निर्माण भएको होटल अहिले आन्तरिक काम भइरहेको छ । यो व्यापारिक समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल निर्माण सम्पन्न गरेको हो । होटलका सञ्चालक शशीकान्त अग्रवालले अबको दुई साताभित्र होटल सञ्चालनमा आउने बताए । ‘होटलको निर्माण सम्पन्न भइसकेको छ, अहिले केही आन्तरिक काम बाँकी छ, अब छिट्टै होटल सञ्चालनमा आउँछ,’ उनले भने । उनका अनुसार अबको दुई साताभित्र होटल सञ्चालनमा आउनेछ । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाको कारण लागत अनुमानभन्दा बढेको बताए । जनशक्तिको लागत बढेकोले होटलकाे निर्माण लागत पनि बढेको उनको भनाइ छ । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । दुई रोपनी जग्गामा बनेको यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार लगायत सुविधा बनाइँदैछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताएको छ । होटलमा कुल ११० वटा कोठा छन् । यस परियोजनामा ७३ करोड रुपैयाँ बैंक ऋण र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी रहेको छ । एम एस ग्रुपको होटलसँगै स्टील, चिनी, रसायन, कागज, कपडा, रियल इस्टेट, बैंकिङ, बीमा तथा आतिथ्यसहितका क्षेत्रमा लगानी गरेको छ । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलको नेतृत्व अध्यक्ष गौरव अग्रवालले गर्ने बुझिएको छ । उनी तीन दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनी शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष पनि हुन् । यस कम्पनीका प्रबन्ध निर्देशक सुमित कुमार अग्रवाल रहेका छन् । उनले एमएमस ग्रुपअन्तर्गतका सम्पूर्ण होटलहरूको नेतृत्व गरिरहेका छन् । सम्पूर्ण निर्माण चरण सकिएपछिको सञ्चालन स्थिरता, पर्यटक आगमन दर र अक्युपेन्सी काम राख्न सक्ने क्षमता नै भविष्यको नाफा सुनिश्चित गर्ने आधार हुने कम्पनीको धारणा छ । त्यस्तै, काठमाडौं उपत्यकामा रहेका ठूलो संख्याका होटलबीचको प्रतिस्पर्धा, पर्यटन क्षेत्रको मौसमी उतारचढाव, र ब्याजदरको अस्थिरता पनि जोखिमका कारक मानिएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई डबल बी प्लसको रेटिङ प्रदान गरेको छ । तस्बिर : नरेश बोहाेरा
नाडा अटो शोको तयारी अन्तिम चरणमा (फोटो–फिचर)
काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो- २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । अहिले भृकुटीमण्डपमा स्टल बनाउने काम धमाधम भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । नाडाका अनुसार अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् । यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिनेछ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’, ‘वर्कफोर्स डेभलपमेन्ट,’ र ‘सेफ मोबिलिटी’ जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज