एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त, वासलात २ खर्ब नजिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेको हो । उनकाे कार्यकाल ४ वर्षकाे लागि ताेकिएकाे छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात नवनियुक्त सीईओ न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ । नवनियुक्त सीईओ न्यौपाने आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् । साथै, उनी चार्टड एकाउण्टेण्ट समेत हुन् । सीईओमा नियुक्त भएकै दिन न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । साथै, उनले सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्तलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि”भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हर हमेसा प्रतिबद्ध रहने प्रण उनले गरेका छन् । गत असाेज मसान्तमा यस बैंककाे वासलात १ खर्ब ९५ अर्ब रूपैयाँ छ । यस बैंकमा सर्बसाधारणकाे निक्षेप १ खर्ब ६३ अर्ब रूपैयाँ छ । १४ लाखभन्दा बढि ग्राहक रहेकाे बैंकले जनाएकाे छ । २६८शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

गरिबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्धारा पदबहाली

काठमाडौँ । गरिबी निवारण कोषका नवनियुक्त उपाध्यक्षले पदबहाली गरेका छन् । उपाध्यक्ष निर्मल कुमार भट्टराई सोमबार कोषको कार्यालय पुगेर  कोषका कार्यकारी निर्देशक तथा नेपाल सरकारका सहसचिव छबि रिजालले पदभार ग्रहण गरेका छन् । तेह्रथुमका स्थायी बासिन्दा भट्टराइले कोष भित्र रहेको भ्रष्टाचार र व्यथितीलाई समाप्त गर्दै गरिब जनताका पक्षमा काम गर्ने जनाउँदै ‘कोष अब नयाँ ढंगले अघि बढाउँने हुँदा सबैको साथ र सहयोग अपिल गरेका छन् ।  लामो समयदेखी राजनीतिका साथै शिक्षण तथा विकास निर्माणका क्षेत्रमा क्रियाशिल भट्टराइले अंग्रजीमा स्नातकोत्तर गरेका छन् । भट्टराई र रिजाल दुबैलाई कोषका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लक्ष्य तथा कोषको उद्देश्य अनुसार पारदर्शि ढंगले काम गर्न निर्देशन दिएका छन् ।

जनता बैंककाे स्वतन्त्र संचालकमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजु नियुक्त भएकै दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिइन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।