कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर, वित्तीय क्षेत्रमा १८ वर्षको अनुभव
काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत( डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले पुस ६ गते(आज)देखि लागु हुने गरी मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त नायब सीईओ मानन्धरले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । नेपाल बङ्गलादेश बैंकबाट बैंकिङ् करियर शुरु गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनको वित्तीय क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको कार्य अनुभव छ ।
सिटिजन्स बैंकको कामु कार्यकारी प्रमुखमा गणेशराज पोखरेल, भण्डारी प्रमुख सल्लाहकार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल भएका छन् । मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे । प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भएको र उनी पुस १ गतेबाट विदामा बसेकाले अर्को व्यवस्था नभए सम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । साथै, सेवा निवृत भएका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीलाई पुस १७ गतेबाट लागु हुने गरि बैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
एनएमबि माइक्रोफाइनान्सको निमित्त सीईओमा रामप्रसाद मिश्र
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको निमित्त प्रमुअ कार्यकारी अधिकृत(सीईओ)मा रामप्रसाद मिश्र नियुक्त भएका छन् । हालै बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको सहायक महाप्रबन्धक मिश्रलाई माइक्रोफाइनान्सको निमित्त सीईओमा नियुक्त गरेको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिइको हो । गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।