साना किसानको बाली तथा पशुधन बीमा डिजिटल प्रणालीमा जोडिने
काठमाडौं । साना किसानलाई लक्षित गर्दै बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बाली तथा पशुधन बीमासम्बन्धी सेवा डिजिटल प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रममा बाली तथा पशुधन बीमाको बीमालेख जारी गर्ने, प्रिमियम अनुदान उपलब्ध गराउने, भुक्तानी गर्ने तथा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने उल्लेख छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई अभियानको रूपमा अघि बढाइने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनर्उत्थान र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताएका छन् । सोमबार संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित हुने गरी राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषयहरू पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने पनि बताए। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आवद्ध गरी राजस्व चुहावट मुक्त आर्थिक क्षेत्रको विकास गरिने उनको भनाइ छ ।
कार्बन प्राधिकरण गठन गर्दै ‘रेड प्लस’ कार्यक्रम विस्तार गरिने
काठमाडौं । सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरी ‘रेड प्लस’ कार्यक्रम विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा हरित अर्थतन्त्र प्रवर्द्धनका लागि कार्बन व्यापारसम्बन्धी संरचना सुदृढ बनाउने नीति लिने बताए । सरकारले सामुदायिक वन उपभोक्ता समूहलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने जनाएको छ । यसबाट वन संरक्षणमा समुदायको सहभागिता थप प्रभावकारी हुने विश्वास गरिएको छ ।