कांग्रेसले भन्यो : राष्ट्रपतिको सम्बोधनकै बिच प्रधानमन्त्री किन हिँडेको ?
नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उठेर हिँडेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको धारणा राखिन् । प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ छ । उनले यस विषयमा सरकारले जवाफ दिनुपर्ने धारणा राखिन् ।
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् । पक्राउ परेकामध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जनाबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट सात लाख ५० हजार रूपैयाँ, धनबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख रूपैयाँ र नौमायाले साइप्रस पठाइदिन्छु भन्दै छ लाख चार हजार ५०० रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उल्लेख छ ।
श्रममन्त्री यादवको सवारी चालक अपहरण गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सवारी चालक रहेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो। महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका- ३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् । पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबरजस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ । आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।