एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमको स्वागत गरेको छ । आज एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटिएका विषयको स्वागत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ । 'विश्वका विभिन्न देशहरूमा आफ्नो मिहिनेत, ज्ञान, सीप, अनुभव र क्षमतामार्फत पहिचान बनाइरहेका लाखौँ नेपालीहरूको भावना, योगदान र सम्भावनालाई राज्यले औपचारिक रूपमा स्वीकार गर्दै राष्ट्रिय विकासको मूलप्रवाहसँग जोड्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नु आफैँमा स्वागतयोग्य विषय हो', विज्ञप्तिमा भनिएको छ । विशेषगरी ‘डायस्पोरा विज्ञ सञ्जाल’ तथा ‘ज्ञान बैंक’ स्थापना गर्ने घोषणा, प्रवासमा रहेका नेपालीहरूको पुँजी, सीप, अनुभव, प्रविधि तथा अन्तरराष्ट्रिय नेटवर्कलाई नेपालको सामाजिक तथा आर्थिक विकाससँग जोड्ने सरकारको सोचले नयाँ आशा र भरोसा अभिवृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । 'आज विश्वभर रहेका नेपालीहरू केवल रेमिट्यान्सको स्रोतमात्र होइनन्, ज्ञान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता, अन्तरराष्ट्रिय पहुँच र विश्वव्यापी ज्ञान र अनुभवका विशिष्ट वाहक हुन् भन्ने यथार्थलाई नीति तथा कार्यक्रमले अङ्गीकार गर्नु आफैँमा सकारात्मक पहल हो', एनआरएनएले भनेको छ ।  यसैगरी, पुँजीबजार सुधार, धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना, संस्थागत लगानी विस्तार, पूर्वाधार बन्ड, ऋण तथा बन्डबजार विकास, जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरणलगायत कार्यक्रमले नेपालमा लगानीमैत्री वातावरण निर्माण गरी दीर्घकालीन आर्थिक स्थायित्व र आर्थिक रूपान्तरणको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ । गैरआवासीय नेपालीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र सहज बनाउने तथा प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताले प्रवासी नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न थप प्रेरित गर्ने प्रवक्ता सापकोटाले उल्लेख गरेका छन् ।  'गैरआवासीय नेपालीहरूको नागरिकता, वित्तीय पहुँच, लगानी सुरक्षा तथा लोकतान्त्रिक अधिकारसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था थप सुदृढ गर्ने विषय पनि महत्त्वपूर्ण छ', विज्ञप्तिमा उल्लेख छ ।   

सरकारले आतंकवादी गतिविधि गरिरहेको शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्नसमेत गरे । नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरुको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यकता पनि औंल्याए । सुकुम्बासीहरुको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उनको आपत्ति थियो ।  नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिव सुकुम्बासीहरुमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाए ।

‘रास्वपाको कुनै विचारधारा छैन, यो अराजकहरुको भीड हो’

काठमाडाैं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तीखाे राजनीतिक टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले एल्गोरिदमको प्रभाव, सामाजिक सञ्जालको प्रयोग र विश्व राजनीतिक परिस्थितिको असरका कारण अप्रत्याशित जनमत प्राप्त गरेको दाबी गरे। थापाले रास्वपा कुनै स्पष्ट वैचारिक आधारमा स्थापित राजनीतिक शक्ति नभएको आरोप लगाउँदै त्यसलाई 'अराजकतावादी समूह र अवसरवादीहरूको गठजोड' को संज्ञा दिए । उनले वैज्ञानिक विचारधाराविहीन राजनीतिक अभ्यासले मुलुकलाई स्थायित्वभन्दा अन्योलतर्फ धकेल्ने टिप्पणी गरे ।  उनले नेपाली सेनाको भूमिकामाथि समेत प्रश्न उठाउँदै “आफ्नै परमाधिपतिको अगाडि आगजनी हुँदा सेना किन मौन बस्यो ?' भन्दै असन्तुष्टि व्यक्त गरे। रास्वपाले अघि सारेको सय बुँदे शासकीय सुधार कार्यक्रम र चुनावी वाचापत्रमाथि पनि उनले आलोचना गरे। उनका अनुसार ती दस्तावेजहरू सुधारको नाममा अधिनायकवादी संरचना निर्माण गर्ने उद्देश्यले तयार गरिएका छन् ।  थापाले लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न राजनीतिक दलहरू स्पष्ट विचार, सिद्धान्त र जिम्मेवार अभ्याससहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।