फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगमाथि कडा कारबाही हुने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा विसर्जन गरेर प्रदूषण फैलाएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सिर्सिया नदी कोरिडोरका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाइएको विषयमा व्यापक गुनासो, उजुरी आएपिछ चेतावनी दिएकाे हाे । प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा तथा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। त्यसैगरी, स्वीकृत वातावरणीय व्यवस्थापन योजना अन्तर्गत प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ अनुसार मात्र फोहोर पानी प्रशोधन गरी विसर्जन गर्न उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइसकेको छ । मन्त्री यादवले नदी तथा खोला प्रदूषण गर्ने कार्य आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको भन्दै वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेकी छन् । मन्त्रालयले सम्पूर्ण उद्योग प्रतिष्ठानहरूलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गरी मात्र उद्योग सञ्चालन गर्न अनुरोध गरेको छ । यदि औद्योगिक तथा वातावरणीय मापदण्डहरूको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बन्धित निकायहरूबाट कडा भन्दा कडा कारबाही प्रक्रिया अघि बढाइनेछ ।
गृहमन्त्री सुधन गुरुङ भावुक भएपछि...
काठमाडौं । लामो समयदेखि न्यायको माग गर्दै सडक संघर्षमा रहेका सुजन बिकले सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भेट गर्दै आफ्ना माग राखेका छन् । चितवनको रत्ननगर नगरपालिका निवासी सुजन बिक विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्याय माग्दै काठमाडौंमा धर्ना र प्रदर्शन गर्दै आएका थिए । उनले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै निरन्तर न्यायको माग गरिरहेका छन् । सोही क्रममा गृहमन्त्री गुरुङले उनलाई मन्त्रालयमै बोलाएर भेट गरेका हुन् । आफ्नो काखमा नवजात शिशु च्यापेर पुगेका सुजनले श्रीमतीको मृत्यु सुत्केरी अवस्थामा अस्पतालको गम्भीर लापरबाहीका कारण भएको भन्दै न्यायको याचना गरेका थिए । भेटका क्रममा सुजनको अवस्था र पीडा देखेर गृहमन्त्री गुरुङ भावुक बनेका थिए । उनले नागरिकको सुरक्षा र न्याय राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरे । गृहमन्त्री गुरुङले घटनाको छानबिनका लागि तत्काल समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले छानबिन निष्पक्ष रूपमा अघि बढाइने र दोषी देखिए कानुनी कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयका अनुसार छानबिन समितिले घटनाको वास्तविकता अध्ययन गरी यथाशीघ्र प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
आज देशभर वर्षा हुने, चट्याङ र हिमपातको चेतावनी
काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।