रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगर प्रमुख विज्ञसहित गुहाटीमा
ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथको बारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराहीसहित महानगर प्रमुख चिरीबाबु महर्जन गुहाटी पुगेका हुन् । महानगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारे आयोजना गरिएको सम्मेलनमा विज्ञहरुको सहभागिता महत्वपूर्ण भएको बताउँदै सबैको सहभागितमा आफू गुहाटी आएको बताए । उनले भने, ‘रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उहाँहरु सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हेतु हो ।’ भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ । नगरप्रमुखले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलका सदस्य एवम पर्यटन संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठले यो सम्मेलन महत्वपूर्ण सम्मेलन भएको बताए । वडा नं.५का वडा अध्यक्ष समेत रहेका उनले भने, ‘ सरोकारवाला सबैको सहभागिता हुँदा अझै यो महत्वपूर्ण भएको छ, रातो मच्छिन्द्रनाथको बारेमा थप बुझ्ने अवसर प्राप्त हुन्छ । ’उक्त प्रतिनिधिमण्डलमा पर्यटन समितिका अन्य दुई सदस्य वडा ६का वडा अध्यक्ष रुपेन्द्रराज शाक्य, र वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ सहभागी छन् ।
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ । शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ । शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । भरतपुरमा मात्र एक करोड ५० लाख हाराहारी खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच/पाँच स्थानमा लाइट जडान गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिला गरी काम हुन लागेको उनले बताइन् । सडक विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनको भनाइ छ । उनले भनिन्, ‘सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।’ यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौंमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।
क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ । वातावरण विभागको प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक/एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो । स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो । यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ । यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । कसरी गर्ने फोहर वर्गीकरण ? भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने कामपाबाट फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन् ।