“हालसम्म गाउँपालिकाका २ हजार घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरेका छौं”

कोरोनाभाइरसका कारण हाल सारा विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि यो भाइरसले नराम्रो असर पुर्याएको छ । यस भाइरसबाट सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका पनि निकै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ भने यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको प्रयोग गरि राखिएको छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको र निषेधाज्ञालाई खुकुलो बनाइँदै गएको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण फैलिनसक्ने जोखिम पनि उच्च छ । यस्तै महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो कार्य गर्दै आएको छ र त्यसैगरी स्थानीय तहमा निर्वाचन भएर आएपछि गाउँपालिकामा विकास निर्माणको काम र सेवा प्रवाह कसरी सञ्चालन भएका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्लसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । कोरोना रोकथाम र नियन्त्रणको लागि टोलटोलमा गई जनचेतनाका कार्यक्रमहरू सञ्चालन पनि गर्दै आएको छ । पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा निषेधाज्ञा पनि जारी गरेका छौं । यस महामारी न्यूनीकरण गर्नको लागि जनप्रतिनिधि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सबै अहोरात्र खटिरहनु भएको छ । हालसम्म पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ५० जनामा संक्रमित पुष्टि भएको छ भने हाल उनीहरू पनि संक्रमणमुक्त भएका छन् । कामको खोजिमा भारत गएका पालिकावासीहरू कोरोनाको समयमा ७ सय जना फर्किएका छन् । उनीहरू आउनुभन्दा पहिला नै पालिका कोरोनाबाट प्रभावित भएको थियो । कोरोनाको संक्रमण बढ्दै जाँदा हामीले पालिकामा १० बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरी बिरामीको उपचार गरिरहेका छौं भने फेरी पनि संक्रमण फैलिन सक्ने हुनाले थप २५ बेडको आइसोलेसन पनि तयार गर्दैछौं । कोरोनाको लक्षण देखिएका बिरामीहरूको एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । एन्टिजेन र पीसीआर परीक्षण गर्ने किट लगायत स्वास्थ्य सामाग्री पनि गाउँपालिका आफैंले खरिद गरेको छ भने विभिन्न संघसंस्थाबाट पनि सहयोग मिलेको छ । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर रहेको छ । पालिकामा उपचार हुन नसकेको खण्डमा जिल्ला अस्पतालमा उपचारको लागि पठाउने व्यवस्था गरेका छौं । कन्चरपुरबाट संक्रमित भए आएका एकजनाले ज्यान गुमाएका थिए । सुरुसुरुमा सबैतिर अक्सिजन तथा स्वास्थ्य सामाग्रीको चरम अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा पनि स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव भयो । तर, हाल भने पालिकामा स्वास्थ्य सामाग्रीको अभाव छैन । पछिल्लो समयमा पालिकामा संक्रमितको संख्या घट्दै गएको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । परीक्षण गर्दा कोरोना पुष्टि भएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरू तथा जनप्रतिनिधिहरू उनीहरूको स्वास्थ्य अवस्था बारे बुझ्दै आउनुभएको छ । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पताल वा आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । साथै औषधि पनि उपलब्ध गराउँदै हुनुहुन्छ । पछिल्लो समयमा संक्रमणको संख्या कम हुदै जाँदा होम आइसोलेसनमा बस्नेको संख्या पनि घट्दै गएको छ । पालिकामा संक्रमण घट्दै गएको छ तर, संक्रमण फेरी फैलिन पनि सक्छ त्यसैले हामीले सबै उच्च सतकर्ता अपनाउनु पनि आवश्यकता छ । तेस्रो लहरको पनि कोरोना आउन सक्छ भनिएको छ, यस तर्फ सचेत हुँदै पुर्वातयारी के गर्दै हुनहुन्छ ? कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरूलाई असर गर्ने धेरै विज्ञहरूले चेतावनी दिएका छन् । यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री जुटाउने योजना बनाएका छौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकालेसचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । धेरै जसो नागरिकहरू महामारीबाट सचेत पनि हुँदै आएका छन् । पालिकामा धेरै ठुलो स्वास्थ्य जनशक्ति नभए पनि सामान्य जनशक्ति हामीसँग छ । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । पालिका भित्र राहत पाइनौं खान पाइनौं भन्नेजस्ता समस्या लिएर आउनुभयो भने हामी राहत पनि दिन्छौं । पालिका भित्र ११ सय जति दलितहरूको बस्ती छ । उनीहरू सम्पूर्णलाई राहत वितरण गरेका छौं । हालसम्म पालिका भित्रका २ हजार घर परिवारलाई पहिलो चरणको राहत वितरण गरेका छौं । विभिन्न संघसंस्थाले पनि हामीलाई सहयोग गरेको छ । कोरोना संक्रमित भएका विपन्न वर्गको लागी ३० केजी चामल, २ केजी दाल, नुन, २ लिटर तेल, साबुन आदि वितरण गरेका छौं । कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवार्य हुनेछ । जिल्ला अथवा सदरमुकाममा बसेका र अलपत्र परेकालाई पनि हामीले राहतको व्यवस्था ग¥यौं । बाहिरी जिल्ला अलपत्र परेकालाई पनि हामीले यातायातको सुविधाद्वारा सम्बन्धित ठाउँमा पुर्याएर पनि हामीले उद्धार गरेका छाैं । तपाईं गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालमा पनि हुनुहुन्छ, यो अवधिमा पालिका भित्र के कति काम गर्नुभयो र कस्ता परिवर्तन आए पालिकामा ? हो, हामी निर्वाचित भएको आएको ४ वर्ष पुरा भएको छ भने अन्तिम कार्यकालको दौरानमा पनि छौं । हामी निर्वाचित भई सकेपछि हामीले घोषणपत्रमा पनिधेरै कुराहरुको उल्लेख गरेका थियौं । यसमा हामीले जनताहरुसँग गरेका प्रतिबद्धता थिए, पालिकाका आवश्यकता थियो, ती आवश्यकता र विकासका कुराहरू हामीले क्रममैसँगसम्बोधन गरेको अवस्था छ । चाहे त्यो भौतिक पुर्वधार, खानेपानी, सिचाई, सडक, शिक्षा, बिजुली, स्वास्थ्य, पर्यटन, सुशासनका कुरा, लक्षित वर्गलाई राहत दिने कुरालाई समेटेर सबै क्षेत्रमा काम गरेको अवस्था छ । पहिलेको तुलनामा विकास निर्माणको कामहरू पनि धेरै भएका छन् । भौतिक पूर्वाधारको तर्फ कुरा गर्दा पहिला २ देखि ३ ओटा मात्र सडकको निर्माण भएको थियो । अहिले हामी प्रत्येक वडा प्रत्येक टोलमा सडक पुर्याउन सफल भएका छौं । स्वास्थ्य क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ भने कृषि क्षेत्रका पनि हामीःे ठुलो फड्को मारेका छौं । हामीले सामूहिक रूपमा पनि कृषि खेतीको कामहरू सुरुवात गरेका छौं । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं । त्यसैले समग्रमा भन्नु पर्दा हामीले सबै क्षेत्रमा उल्लेखिनिय कामहरू गरेका छौं । खोनेपानीबाट पिडित रहेको समुदाय धेरै रहेका थियो । हाल खानेपानीबाट कुनै पनि समुदाय वञ्चित छैन । स्थानीय तहको नेतृत्व सम्हाल्नुभएको धेरै भएको छ भने अनुभव पनि धेरै बोटुल्नु भएको छ, स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न के–के काम गर्नुपर्ने रहेछ ? स्थानीय तहलाई प्रभावकारी नै बनाउने हो र यहाँका यावत समस्यालाई समेट्न पर्ने हो तर सबै सम्पूर्ण समस्याको समधान गर्ने स्थानीय तहले चाहेर पनि सक्दैन रहेछ । जनताको आवश्यकता चाहना धेरै हुन्छ । साचै पालिकाको विकास गर्नको लागि सबै संस्थाहरूले समन्वय गरेरसरसल्लाह अनुसार यहाँको आवश्यकता परिपूर्ति गर्दै आ–आफ्नो क्षेत्रको काम राम्रो समाल्नु पर्छ । हाम्रो पालिकाको आन्तरीक स्रोत साधन कम छ । प्रदेश र केन्द्रको सहयोगमा नै स्थनीयतहको विकास हुँदै रहेछ । हामी नागरिकको नजिकको प्रतिनिधि भइरहँदा हामी जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ । नागरिकको हरेक समस्यासँग जानकारी राख्दै स्थानीय नागरिकको अपेक्षा र मागअनुसार साधन र स्रोतले भ्याएसम्म विकासको काम गर्नुपर्छ । पालिकाको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीको मनोबल उच्च पारेर काम गर्दै कर्मचारीसँग भएको क्षमतालाई स्थानीय सरकारले सदुपयोग गर्ने स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने मात्र राम्रो हुने रहेछ भन्ने अनुभव प्राप्त भयो । स्थानीय सरकारमा काम गरेका ४ वर्ष परा हुँदा काम गर्दौ जाँदा के– कस्ता चुनौती र समस्या आए त ? जनताको नजिकैको सरकार स्थानीय तह हो । जनातको गुनासोलाई संभोदन गर्ने भनेको नै स्थानीय तह हो । स्थानीय सरकारसँग नागरिकका चाहना र अपेक्षा धेरै छन्। तर स्थानीय तहमा विविधखाले समस्या भइरहेका हुन्छन् । जनताका चाहना र अपेक्षा पूरा गर्न निकै कठिन भइरहेको छ। चुनौतीलाई अवसरका रूपमा लिँदै स्थानीय तहलाई अब्बल बनाउन भएभरको शक्ति र क्षमता प्रयोग गर्दै अगाडि बढिरहेका छौं ।स्थानीय तहमा काम गर्दै जाँदाधेरै समस्या र चुनौती आए । हाम्रो पालिका अन्य स्थानीय तह भन्दा पछौटे नै थियो भने विकास निर्माणको कुराबाट पनि हामी टाठा नै थियौं । सिंहदरबारको अधिकार गाउँसम्म अनि पशस्त बजेट आउँछर स्थानीय तहमा हामीले सोचेको विकास निर्माणको कामहरू पुरा हुन्छ भन्ने सोचाई थियो । हामीले सोचे अनुसार बजेट पनि हुन सकेन र स्रोत पनि हामीसँग हुन सक्ने र हामी कमजोर हुने बाटो यहाँनेर भयो । यहाँ सकारात्मक सोचको अभाव छ । पालिकामा कच्ची सडकहरु धेरै छन् । वैदेशिक रोजगारेका लागि गएका रोजगारी गुमाएकाहरूलाई पर्याप्त मात्रामा रोजगारी दिन नसकिरहेको अवस्था छ । यस्तायस्ता कठिनाइको कारण चाहेको जस्तो काम गर्ने सकेको छैन । तर, चुनौतीलाई अवश्र मादै अगाडि बढि रहेका छौं । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? गन्यापधुरा गाउँपालिकाका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने सबै भन्दा ठुलो कुरो आफ्नो काम, कर्तव्य, अधिकार र नागरिकले के गर्ने, कानुनको मर्यादा मान्ने कि नमाने भन्ने कुरा देखि लिएर सबै जना सचेत रहन जरुरी छ । अधिकार मात्र जमाएर हुँदैन आफुले गर्नुपर्ने कर्तव्य जुन चाहिँ सबैधानीक कुराहरू छन् त्यसको पालन गर्न पनि जरुरी छ । कोभिडको समय छ, भिडभाड नगरिइदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ त्यस कारण कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । अनि नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । स्थानीयवासीले पालिकामा जे काम गरेका छौं त्यसको सही मुल्याङकन गरिदिनु पर्छ । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नु हुन अनुरोध गर्दा छु । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेर लागि परेका छौं ।

शंखरापुर नगरपालिकाका कृषकको सम्पूर्ण बीमा आइएमई जनरल इन्स्योरेन्सले गरिदिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने छन् । त्यस्तै, नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौं जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ । बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन् । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने उनको प्रतिवद्धता रहेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बालिकाहरूको शैक्षिक बिमा गरिदिने व्यवस्था मिलाएका छौं – नगर उपप्रमूख खातुनसँगको अन्तर्वार्ता

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा अझै पनि फैलँदो अवस्थामै छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उपचारमा प्रदेश २ अन्तर्गतको पर्सा जिल्लामा पर्ने पोखरिया नगरपालिका पनि कम्मर कसेर लागिपरेको छ । यस्तै महामारी नियन्त्रणमा नगरपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाकी उप–प्रमुख सलमा खातुनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । अहिले कोरोनाका कारण विश्व आक्रान्त भइरहेको छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाले के गरिरहेको छ ? यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । नगरले कोरोना रोकथाम र नियन्त्रणको लागि टोलटोलम गई जनचेतनाका कार्यक्रमहरू सञ्चालन पनि गर्दै आएको छ । गत वर्षको कुरा गर्दा हामीले क्वारेनटिन व्यवस्थापनमा बढि फोकस गरेका थियौं । कोरोनाको लक्षण देखिएका बिरामीहरूको एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । पोखरिया अस्पतालको दोस्रो तलामा ५० बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरी बिरामीको उपचार गरी रहेका छौं । यस आइसोलेसनमा ३६ जना कोभिडका बिरामीहरू हालसम्म बसेका छन् । तर, हाल आइसोलेसन कक्षमा बिरामीहरु भने छैनन् । पछिल्लो समयमा नगरमा संक्रमितको संख्या घट्दै गएको छ । नगरपालिका भित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्था मिलाएका छौं । वडा तथा समुदायमा गएर नागरिकहरूलाई मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ । नगरमा उपचार हुन नसकेका बिरामीलाई अन्य अस्पतालमा उपचारको लागि रेफर गर्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाले बिरामीलाई निःशुल्क रुपमै एम्बुलेन्स प्रयोग गर्न दिएको छ । एन्टिजेन र पीसीआर परीक्षण गर्ने किट नगरपालिका आफैंले खरिद गरेको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई होम आइसोलेसनमै बस्न आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेकाहरूको फोन नम्बर स्वास्थ्यकर्मीलाई उपलब्ध गराएका छौं । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । त्यस्तै जटिल बिरामीहरूलाई भने नगरपालिकाको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । हामीले सामान्य रुघाखोकी लागेको बिरामीहरुको पनि परीक्षण गर्दै आएका छौं । हाल नगरपालिकामा कोरोनाको संक्रमण घट्दै गएको भन्ने आभाष छ तरपनि परीक्षणको दायरालाई चाहिँ निरन्तरता दिइरहेका छौं । कोरोना नियन्त्रणमा नगरपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । मानिसहरुले कुरा नबुझ्दा पनि समस्या परेको छ । संक्रमितको संख्या नगरमा बढ्दै गयो भने भौतिक संरचनाको पनि कमि छ । कोरोनाका बिरामीहरूलाई पोखरिया अस्पतालको माथिल्लो तलामा आइसोलेसन कक्षको स्थापना गरी उपचार गर्दै आएका छौं । संक्रमितको उपचारको लागि सामुदायिक भवन अथवा कुनै होटेलमा राख्न सक्ने अवस्था चाहिँ छैन । ठूलो संख्यामा संक्रमित देखिए भने बिरगञ्जमा भवन भाडामा लिएर बिरामीको उपचार गर्नुपर्ने हुन्छ जुन अन्य पालिकाले पनि गरेका छन् । तर, हालसम्म भवन भाडमा लिएर उपचार चाहिँ गरेको छैन । हाम्रो अहिलेको चुनौती भनेको विश्वव्यापी रुपमा फैलिएको कोरोना नै हो । सुरुसुरुमा सबैतिर अक्सिजन तथा स्वास्थ्य सामाग्रीको चरम अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा पनि स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव भयो । निजी क्षेत्र र प्रदेश सरकार लगायत विभिन्न संघसंस्थाको सहयोग र पालिकाको पहलमा केही स्वास्थ्य सामाग्री खरिद गरेका छौं भने केही सहयोग पनि मिलेको छ । यो महामारी नियन्त्रण गर्नको लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न चाहिँ समस्या हुँदो रहेछ । यस महामारीलाई नियन्त्रण गर्नको लागि हामीले राम्रो नै काम गरे जस्तो मलाई लाग्छ र जिल्लामा राम्रो नै मुल्याङकन भएको छ । तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री जुटाउने योजना बनाएका छौं । कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरूलाई असर गर्ने धेरै विज्ञहरूले चेतावनी दिएका छन् । त्यसैले तेस्रो लहरको महामारी आउनु भन्दा पहिला नै स्वास्थ्य मन्त्रालयबाट सहयोग पाउन सकियो भने हामीले राम्रो तयारी गर्न पक्कै सक्ने थियौं । नगरको स्वास्थ्य शाखा र पोखरिया अस्पतालाई चाहिँ आवश्यक पर्ने स्वास्थ्य सामाग्री सूचि तयार गर्नको लागि निर्देशन पनि दिएका छौं । दक्ष जनशक्तिको पनि अभाव छ । कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? गत वर्ष पनि हामीले पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याएका थियौं । हाल राहत वितरणमा पालिकाको योजना हुन सकेन । तर, विभिन्न संघसंस्थाको सहकार्यमा भने विपन्न परिवारलाई राहत चाहिँ उपलब्ध गरायौं । निषेधाज्ञाले दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाउनेहरुको अवस्था निक्कै नाजुक भएको छ । दिनभरी मजदुरी गरेर साँझ चुलो धुवाउनेहरू निषेधाज्ञामा बिचल्ली परेका छन् भने उनीहरुका लागि सामान्य राहत संघसंस्थाको सहकार्यमा वितरण गरेका छौं । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो छ । त्यसैले राहतका कार्यक्रमहरू ल्याउन नसकेका हौं । संघीयता कार्यान्वयनसँगै स्थानीय तहले नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा पालिका भित्र के कति काम गर्नुभयो र कस्ता परिवर्तन आए पालिकामा ? यो अवधिभर नगरपालिकामा धेरै परिर्वतनहरु आएको छ । हामीले गरेको कामको प्रतिफल धेरै समय पछि देखिन सक्छ । नगरको शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायराभित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निम्ति हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । शिक्षामा बालिकाहरूको पहुँच बढाउनको लागि साइकल पनि वितरण गरेका छौं । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । पहिले वर्षको नै निति तथा कार्यक्रममा बालिका शिक्षा सिकाई प्रक्रिया भनेर ल्याएका छौं । बालिकाहरूको शैक्षिक बिमा गरिदिने व्यवस्था पनि मिलाएका छौं । बाल विवाह धेरै हुने भएकाले बालविवाह रोक्न पनि धेरै कामहरू भएका छन् । सामाजिक चुनौतीहरुको पनि समाधान गर्नमा हामी लागि परेका छौं । यस्तै कृषि क्षेत्रका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । स्वास्थ्य क्षेत्रमा पनि परिवर्तन आएको छ । पोखरिया अस्पतालले चाहिँ अन्य पालिकाका बिरामीलाई पनि सेवा दिइरहेको हुनाले त्यस अस्पतालमा हामीले जनशक्तिको पनि व्यवस्थापन गरेका छौं । हरेका वर्ष औषधी खरिदको लागि पालिका आफैले छुट्टै बजेट पनि विनियोजन गर्दै आएको छ । स्वास्थ्य सेवा राम्रो होस् भनेर पनि हामी लागि परेका छौं । प्रदेश सरकारले पोखरिया अस्पताललाई जिल्ला अस्पताल सरह घोषणा पनि गरेको छ । ग्रमीण क्षेत्रका जनातालाई पालिका भित्रनै स्वास्थ्य सेवा मिलोस् भनेर हामी लागि परेका छौं । पालिका भित्र गर्नु पर्ने कुराहरू धेरै छन् भने आवश्यकता पनि धेरै छन् किन भने हाम्रो नगरपालिका नयाँ हो । दिगो योजनाहरू पनि हामीले ल्याउने प्रयास गरिरहेका छौं । तपाईंहरुले चुनावका बेला बोलेका र घोषणापत्रमा उल्लेख गरेका कुराहरू कत्तिको पूरा भए त ? पक्कै पनि हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित भएको बोलेअनुसारका धेरै कामहरू पुरा गरेका छौं । विकास निर्माण, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन रहेछ । हामीले गर्छाैं भनेको कुरा बाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन सक्छन् । त्यसैले समग्र पालिकाको नै विकास गर्दै आएका छौं । युवालाई प्राविधिसँग अन्तरसम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । आर्थिक विकाससँग अन्तरसम्बन्धी पालिकाले प्रयोग गरेको योजनालाई रोजगार सिर्जना हुने गरी कृषिमा युवाहरूलाई जोडिनको लागि आग्रह गरेका छौं । पालिकामा जनचेतनाको पनि अभाव रहेको छ । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छौं । पालिकामा युवाहरूले व्यावसायिक खेती गरी रोजगारी मूलक बनाइरहेका छन् । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? पोखरिया नगरपालिकाका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने कोभिडको समय छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ त्यसकारण कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । अनि नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । स्थानीयवासिले पालिकामा जे काम गरेका छौं त्यसको सही मुल्याङकन गरिदिनु पर्छ । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नु हुन अनुरोध गर्द छु । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेर लागि परेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । गाउँपालिकालाई समृद्ध पालिका र सुखी पालिकाबासिन्दा बनाउनको लागि हामी सबै मिलेर लाग्नु पर्छ । राम्रो कामको प्रशंसा गर्ने, नराम्रो कुराको बिरोध गर्ने र सोही किसिमको प्रसंसा र विरोध गर्नु भनेर आग्रह पनि गर्न चाहन्छु ।