धनगढी उपमहानगरको आगामी बजेट एक अर्ब ९३ करोड बढी
काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले सो बजेट सार्वजनिक गरेकी हुन् । उक्त बजेटमा चालु खर्चतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ । उपहानगर बजेटको स्रोतमा आन्तरिक आयको ३५ करोड ४३ लाख ३० हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४६ करोड ९७ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र चालु आर्थिक वर्षको दायित्व सरी आउने १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
घोराही उपमहानगरपालिकाले सार्वजनिक गर्यो २ अर्ब १५ करोडकाे बजेट
काठमाडौं । घोराही उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको नगर सभाको १३ औं अधिवेशनमा नगर उपप्रमुख हुमा डि.सी.ले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । कुल विनियोजित बजेटमध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पुँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार, प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । उपमहानगरकाे बैंक मैज्जात ३६ करोड रहेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३२ करोड ९० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको थियो । घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथमिकता राख्दै बजेटको विनियोजन गरेको छ । जसमा कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकास तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ र उपमहानगर भित्रका डाक्टर–इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुकाे छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
ललितपुर महानगरद्वारा अगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड बराबरको बजेट प्रस्तुत
काठमाडौं । ललितपुर महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले तेस्रो नगर सभाबाट आगामी वर्षका सो बजेट विनियोजन गरेकी हुन् । प्रस्तुत बजेटमा पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँको रहेको छ । महानगरपालिको चालु आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।