पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विराेधमा ढुवानी सेवा बन्द
वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिए । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए । सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताउनुभयो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ । रासस
यसरी ठगी हुन्छ सामाजिक सञ्जालमा : ९ महिनामा ८ करोड ठगी
काठमाडौं । नेपालमा फेसबुक, भाइबर, अनलाइन बैंकिङ, ह्वाट्स एप, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्म थाहा नपाउने कमै होलान् । अझ धेरैले प्रयोग पनि गरिरहनु भएको होला । यस्ता डिजिटल प्लेटफर्महरू कुनै मनोरञ्जनका लागि बनेका हुन् । कुनै सूचनाका लागि । कुनै डिजिटल कारोबारका बनेका डिजिटल प्लेटफर्म हुन् । फरक–फरक प्रायोजनका लागि प्रविधिहरू बने पनि ठगी हुने कारण भने लगभग एउटै रहेको प्रहरी अनुसन्धानले देखाउँछ । ‘एकजना ग्यारेजमा काम गर्ने भाइ थियो, उसलाई चिठ्ठा परेको भनिएछ र चिठ्ठाको रकम लिन कर तिर्नु भनिएछ, त्यो भाइले पनि रकम कसैको बैंक खातामा हालिदिएछ, तर उसले रकम नपाएर ठगीमा परें भन्दै यहाँ आयो,’ नेपाल प्रहरीको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला सुनाउन लागे –अनुसन्धानको क्रममा के पत्ता लाग्यो भने भाइ सामाजिक सञ्जालमा एक अपरिचितसँग चिनजान भएपछि जागिरको लोभमा आफ्नो खाताबाट कारोबार गर्न दिएको देखियो ।’ प्रहरीका अनुसार उसको अपराध गर्ने नियत होला/नहोला तर उसको खाताबाट कारोबार भएकोले उसको संलग्नता देखिन्छ । प्रहरीका अनुसार ग्यारेजवाला भाइको अपरिचित साथी नेपाली नभएर पाकिस्तानी हो । पाकिस्तानीले केही दिनको बोलचाल पछि जागिर दिने आश्वासनमा चारवटा खाता खोल्न लगाउछ । काम केही गर्नै नपर्ने । खातामा पैसा जम्मा भइरहने र मासिक २० हजार आफ्नो तलब कटाएर बाँकी मैले भनेको ठाउँमा जम्मा गर्नु भनेर ती पाकिस्तानीले पैसा जम्मा गर्ने गरेको रहेछ । ‘म नेपालमा व्यापार गर्छु, व्यापारको रकम जम्मा गर्नु भनेर ती ग्यारेजवालालाई प्रयोग गरेका छन्, ग्यारेजवालाको आफ्नै खाताबाट कारोबार भएकोले ग्यारेजवाला भाइ दोषी हुन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने । त्यस्तै, एक जनाको नागरिकता र फोटो प्रयोग भएको बैंक खाताबाट कारोबार भइरहेको छ । तर, जो कागजातमा संलग्न छन् उ न बैंक पुगेको छ न हस्ताक्षर नै आफूले गरेका छन् । तर उसको खाताबाट कारोबार भइरहेको छ । त्यस्ता खाताहरू पछिल्लो समय मौलाउँदै गइरहेको क्रिप्टोकरेन्सीजस्ता कारोबारसमेत अपराधीहरूले प्रयोग गरिरहेका छन् । जब प्रहरीकहाँ मुद्दा दर्ता हुन्छन् तब डिजिटल अपराधका खेलाडीसम्म पुग्न मुस्किल हुन्छ भने साधारण व्यक्ति फस्छन् । प्रेम सम्बन्ध पनि अचेल आर्थिक नोक्सानीको कारक बन्न थालेको छ । यस्तै, एउटा विषय प्रहरीको साइबर व्युरो हुँदै अपराध महाशाखासम्म पुगेको छ । एउटा उदाहरण यस्तो छ, केटा केटीबीच प्रेम बसेपछि म्यासेन्जरबाट कुरा हुन्छ । भेटका प्रेमिल क्रियाकलापहरू मोबाइलमा कैद गरिएको हुन्छ । केटा र केटीबीच राम्रो सम्बन्ध हुँदासम्म गोप्य राखिने भिडियो र फोटो जब सम्बन्ध बिग्रिन्छ, तब सामाजिक सञ्जालमा धम्की दिने र पैसाको बार्गेनिङ गर्नेजस्ता उजुरी प्रहरीसँग दर्ता हुन्छ । ‘फेसबुकमार्फत् हाम्रो चिनजान भयो, बेलाबखत भेटघाट हुन थाल्यो, सम्बन्ध नजिकिँदै जाँदा सहमतिमै शारीरिक सम्बन्ध पनि रह्यो, फोटो पनि खिच्यौं,’ पीडितले प्रहरी समक्ष भनेकी छन् । प्रहरीका अनुसार पीडित विवाहित हुन् । उनीहरूको सम्बन्धबारे श्रीमान् र परिवारका सदस्यले थाहा पाएपछि उनी ती परसम्बन्धबाट टाढा रहन चाहन्छिन् । तर, केटाले धम्की दिने र मोबाइलबाट फोटो हटाउनै परे पैसा दिनु भन्दै बार्गेनिङ गर्न थाल्छ । धम्की, बदनाम, बेइज्जती नरोकिने भएपछि महिलाले प्रहरीमा उजुरी दिन्छिन् । प्रहरी अनुसन्धानको क्रममा खुलेका यस्ता तथ्यले के देखाउँछ भने समयअनुसार आएका प्रविधिलाई सदुपयोग गर्न जानिएन र सकिएन भने वा आफन्त वा प्रेमको नाममा हदभन्दा बढी विश्वास गर्दा फस्न सकिन्छ । साथै आफूले आफ्नो परिचय खुल्ने कुनै डकुमेन्ट अरूलाई दिँदा सहजै अरूले अपराध गरिरहने र मुद्दा पर्दा आफू फस्ने भएकोले यसबारे सजग रहन प्रहरीको आग्रह छ । डिजिटल प्लेटफर्म प्रयोग गरेर अपराध गर्नेहरूले तपाईका सबै डाटा अध्ययन गरिरहने भएकोले आफ्नो नामबाट अरूलाई सिम निकाल्न, आफ्नो नामबाट अरूलाई बैंकिङ कारोबार नगराउन र आफूले प्रयोग गरेका कुनै पनि सामाजिक सञ्जालको पासवर्ड जस्ता गोप्य विवरणहरू कसैलाई नदिन प्रहरीको सुझाव छ । यसले आफू संलग्न नभए पनि आफू फस्ने भएकोले सजग हुनुको विकल्प नरहेको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि यता प्रहरीमा करिब ८ करोड रुपैयाँ ठगीका उजुरी परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एवं प्रहरी उपरीक्षक कोइरालाका अनुसार विभिन्न शीर्षकमा ४२१ वटा आर्थिक रुपमा ठगिएको भन्दै उजुरी परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकअनुसार चिठ्ठा परेको छ भन्दै ठगी ८२ वटा, विदेशबाट पार्सल पठाइदिन्छु भनी ठगी ६३ वटा, मोबाइल किन्न भन्दै ठगी ५७ वटा, फेसबुक ह्याक गरी ठगी ५० वटा, बैंक खाताको ओपीडी कोड मागेर ठगी २२ वटा र इसेवा भनी ठगीका २१ वटा उजुरी परेका छन् । त्यस्तै, अनलाइनबाट रोजगारी दिन्छु भनी ठगी १० र अन्य विविध प्लेटफर्मबाट ठगी १०८ वटा गरी ४२१ वटा उजुरी परेका प्रहरीले जानकारी दिएको छ । उक्त ४२१ पीडितहरूबाट ७ करोड ८७ लाख ७९ हजार ४९७ रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको हो । सबैभन्दा धेरै गत मंसिरमा मात्र दुई करोड ८० लाख ठगीका उजुरी परेको थियो । प्रहरीले अनुसन्धान जारी राखेको छ भने ४७ अनुसन्धानको किनारा लगाउदै ६९ लाख ३० हजार ३९० रुपैया रकम असुल गरेको छ । ‘कारोबार भएको डिभाइससम्म प्रहरीको पहुँच पुग्दैन, दर्जनौ सामाजिक सञ्जाल प्रयोग हुन्छ तर नेपालमा एउटाको पनि सम्पर्क कार्यालय छैन । एक्लो प्रयासबाट अनुसन्धान जटिल र ढिला हुन्छ,’ अनुसन्धानमा किन प्रहरी कमजोर देखियो भन्ने प्रश्नमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कोइराला भन्छन् । प्रहरीका अनुसार धेरैजसो अपराध विदेशबाट हुने र त्यसको अनुसन्धानका लागि विदेशी निकायसँग समन्वय गर्दा ढिला भएको हो । साथै समन्वय गर्दा नीतिगत समस्यका कारण पनि समस्या भएको हो । नेपालबाटै हुने अपराधमा पनि वास्तविक अपराधीसम्म पुग्न धेरै समय लाग्छ । किनकि अपराधिहरूले आफ्नो नामको वाइफाइ प्रयोग नगर्ने, आफ्नो नामको सिम प्रयोग नगर्ने र इसेवा तथा बैंक खाता पनि अर्कैको प्रयोग गर्ने भएकाले सोझासिधा फस्ने तर ठगी प्रकरणमा संलग्नहरू उम्किने समस्या छ । नेपालको कमजोर नीति र व्यवस्थाका कारण अरूको नाममा सबै डकुमेन्ट लिन र प्रयोग हुने गरेकोले नीतिगत असहयोग भएको प्रहरीको भनाइ छ । प्रहरी संगठनभित्र डिजिटल प्रविधिमा दक्ष जनशक्ति नभएकोले पनि समस्या भएको छ । अनलाइन वा विभिन्न सामाजिक सञ्जालबाट ठगी हुँदा गरिने कार्वाहीसम्बन्धी ऐन कानून पनि नबनेको प्रहरीले भनाइ छ । अहिले प्रहरीले यस्ता प्रकृतिका मुद्दा बैंक तथा वित्तीय संस्था ऐन २०७५ अनुसार अनुसन्धान र कारबाही गरिरहेको छ । ऐन नबनेकै कारण यो ऐनको आधारमा काम कारबाही गरिरहेको प्रहरीले जनाएको छ । यसरी पछिल्लो ९ महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरी र अनुसन्धान हेर्ने हो भने ठगी हुने कारण एउटै हो, प्रयोग गर्न नजान्नु । त्यसैले आफ्नो नागरिकता प्रयोग गरी अरूलाई सिम निकाल्न नदिन, इसेवा, बैंक खाता खोल्न नदिन र श्रमभन्दा बढी आम्दानी हुने काममा हात नहाल्न प्रहरीको सुझाव छ । त्यस्तै, फेसबुकको पासवर्डमा मोबाइल नम्बर, जन्ममिति, आमाबुबाको नाम, जन्मस्थान, कलेजको नाम आदी प्रयोग नगर्न तथा प्रेम वा आफन्तको नाममा हदभन्दा बढी विश्वास गरेर अश्लिल फोटो वा भिडियो नखिच्न पनि प्रहरीको सुझाव छ ।
‘झुपडीमा बस्नेको घर बन्यो, भिख माग्ने बने व्यवसायी’
काठमाडौं । एउटा टीनले छाएको झुपडी । झुपडीको वरिपरी सारी बेरिएको । जब पानी पर्छ अनि नजिकैको धर्मशालामा ओत लाग्न गैहाल्नु पर्थ्यो मोरङ ग्रामथानकी सिता ऋषिदेवलाई । ३५ वर्षकी सिता आफ्नो विगत सम्झिदै भन्छिन्, ‘जीवनमा धेरै दुःख पाइयो, नचुहिने घरमा बस्न पाइएन, बिहान-बेलुका छाक टार्न पनि धौधौ नै हुन्थ्यो तर, अहिले मजदुरी गर्छु, जीवन विकासले दुई कोठे घर बनाइदिएको छ, त्यसमै बसिरहेकी छु ।’ उनी घरमा बस्न थालेको करिब २ महिना भयो । सिताको श्रीमान अर्को बिबाह गरेर छुट्टै बस्छन् । उनीसँग ५/७ वर्षका एउटा छोरा र एउटी छोरी छन् । उनीहरु सरकारी स्कुलमा निःशुल्क पढ्दैछन् । ‘जीवन विकास लघुवित्त संस्थाले घर बनाइदिएको छ, अहिले पानी परेपनि आफ्नै घरमा बस्छौं, पहिलेको जस्तो चुहिने डर छैन,’ उनले खुसी हुँदै भनिन्, ‘लघुवित्तका कर्मचारीहरु प्रायः भेट्न आइरहनु हुन्छ, उहाँहरु आउँदा झन् खुसी थपिन्छ ।’ नवनिर्मित घरमा सिता ऋषिदेव सिता जस्तै एकल महिला हुन् ७० वर्षीय भगियादेवी कामद । हातमा भाँडो लिएर भिख माग्नु पर्ने बाध्यता कामदलाई थियो । तर, उनको पेशा अहिले बदलिएको छ । उनको एउटा छोरा शारिरीक रुपमा अस्वस्थ छन् भने अर्को छोरा अंशबण्डा गरेर छुट्टै बस्छन् । शारिरीक रुपमा अस्वस्थ छोराको हेरविचार भगियादेवी आफैले गर्छिन् । अरुले हेरचाह गर्नु पर्ने उमेरकी भगियादेवी आफै छोराको हेरविचारमा खटिन्छन् । पहिला भिख मागेर खाने उनी जीवन विकासको साथ र सहयोगले अहिले सानो सब्जी व्यापार गरेर आफ्नो गुजारा चलाउन थालेको बताउँछिन् । जीवन विकासका अनुसार भगियादेवी संस्थाको पुरानो सदस्य हुन् । उनले बचत बराबरको ऋण चलाएकी छन् । पहिला भिख माग्ने उनले हाल तरकारी बेचेर थोरै भएपनि कमाउने गरेकी छन् । ‘जीवनमा म कहिल्यै पनि डसनामा सुतेको थिइनँ, अहिले डसनामा सुत्न थालेकी छु,’ पहिला त्रिपालमा बसेर जीवनयापन गर्दै आएकी कमादले गहभरि खुशीको आँशु बनाउँदै भनिन् । सो घरलाई थप व्यवस्थित गर्ने काम भइरहेको जीवन विकास लघुवित्तकी जिल्ला इञ्चार्ज मैयाँ राईले बताइन् । व्यवसायी बनेकी भगियादेवी कामद जीवन विकासले एकल महिलाहरुलाई व्यावसायी मात्र बनाएको छैन आँखा नहुनेलाई आँखा नदेख्नेलाई आँखा देख्ने पनि बनाएको छ । संस्थाले शिविरहरु आयोजना गर्ने काम पनि गर्दै आएको छ । संस्थाको प्रत्येक शाखाले एक महिनामा कम्तिमा पनि ४ वटा सामाजिक उत्तरदायित्वको काम गर्नुपर्ने भनेर नै तोकिएको राईले बताइन् । पहिला केही नदेख्ने उनीहरु अहिले संसार देख्ने भएका छन् । लठ्ठीको साहरा बिना हिड्न नसक्ने उनीहरु अहिले बिना साहारा हिड्न सक्ने भएका छन् । उनीहरु भन्छन्, ‘यो सबै जीवन विकासको देन हो ।’ पहिला पनि उनीहरु आँखा जचाउन नगएको होइनन् । तर, अस्पतालले पैसा लाग्छ भनेपछि उनीहरुले आफ्नो आँखाको उपचार गर्न नसकेको बताउँछन् । तर, जीवन विकास आएपछि निः शुल्क आँखा उपचार गरेर संसार देख्ने बनाएको भन्दै उनीहरु खुसी छन् । आँखा शिविरमा सहभागि भएकामध्ये केही पात्रहरु यी त केही उदाहरण हुन् । सिता र भगियादेवी जस्ता कयौंले नयाँ जीवन पाएका छन् । यो वर्ष मात्रै संस्थाले अति विपन्न वर्गका ३६ जना व्यक्तिलाई बासस्थान उपलब्ध गराएको लघुवित्तको भनाइ छ । जीवन विकासले हालै संस्थाको वार्षिकोत्सवको अवसरमा घर निर्माण तथा श्रमदान कार्यक्रम अन्तर्गत घर नभएकाहरुलाई बासस्थानको व्यवस्था मिलाएको बताएको छ । यस्तै, संस्थाले हालसम्म ४३ वटा आँखा शिविर गरिसकेको बताएको छ । जसमा ७ हजार ४२७ जना सहभागि भएका थिए भने तीमध्ये १ हजार ९७ जनाले आँखा अपरेशन गरेर संसार देख्न सक्ने भएका छन् । आँखा शिविरमा मात्रै संस्थाले ५ लाख रुपैयाँ खर्च गरेको बताएको छ । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न काम गरिरहेको बताए । उनले संस्थाले शिविर (आँखा, दाँत, साधारण स्वास्थ्य), बालशिक्षा, स्वयम् सेवक कार्यक्रम (दिगो आवाश), पानी र सरसफाई, प्रकोप व्यवस्थापन, युवा महिला तथा जेष्ठ नागरिक र अति विपन्नलाई सहयोगमा एक लाख रुपैयाँभन्दा बढी खर्च गरेको पनि बताए । ‘हामीले वितरणमूखी भन्दापनि वास्तविक समुदायको परिवर्तनको लागि खर्च गरिरहेका छौं, यसको लागि संस्थाले विभिन्न अभियानहरु सञ्चालन गरेको छ, हामीले आफ्नै छुट्टै ढंगले गैर-सदस्य वा विभिन्न समुदायमा देखेका समस्यालाई ध्यानमा राखेर सक्दो सहयोग गरिरहेका छौं,’ सीईओ मण्डलले भने । उनका अनुसार संस्थाले नाफाको ५ प्रतिशतसम्म सीएसआरमा खर्च गर्न इच्छुक छ । संस्थाले स्थानिय निकायको समन्यवयमा विभिन्न शीर्षकमा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्रै संस्थाले १४ वटा शीर्षकमा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको तथ्यांकले जनाउँछ । तथ्यांकका अनुसार संस्थाले सबैभन्दा बढी रकम कोभिड १९ मा २३ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, स्वास्थ्य सचेतना कार्यक्रममा १८ लाख १७ हजार ४३९ रुपैयाँ, सामुदायिक विद्यालय सहयोग तथा छात्रवृत्तिको शीर्षकमा ९ लाख ४२ हजार रुपैयाँ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षमा मात्रै संस्थाले सीएसआरको लागि छुट्याइएको कूल बजेटको ४७ प्रतिशत रकम खर्च भईसकेको सीईओ मण्डलले बताए । उनका अनुसार कूल ६९ लाख ६८ हजार ६६४ रुपैयाँको बजेटमा जीवन विकासले ९ महिनामै कूल ३२ लाख ८८ हजार २६० रुपैयाँ रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शीर्षकमा खर्च गरिसकेको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार लघुवित्तहरुले नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था छ । तर, जीवन विकासले भने सोभन्दा बढी खर्च गर्दै आएको छ । संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार जीवन विकासले सीएसआरमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । जुन संस्थाले अघिल्लो आवमा गरेको नाफाको करिब २ प्रतिशत हो । संस्थाले अघिल्लो आव अर्थात आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।