रङले हाम्रो छालासँगै स्वास्थ्यलाई राम्रो गर्छ, यसलाई नकारात्मक नलिउँ: डा. काफ्ले
काठमाडौं । होली पर्वलाई समाजमा सकरात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । फागुन शुल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकरात्मकता र सद्भावना ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरुले जोड दिएका हुन् । रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ साटासाट गरेर मनाइने प्रचलन छ । कोरोनाका कारण गत तीन वर्ष हर्षोल्लासका साथ मनाउन नपाएको होली यस वर्ष भने नेपालको काठमाडौंसहित देशभर नै हर्षोल्लासका साथ मनाउन लागिएको हो । सह प्राध्यापक डा. प्रियंवदा काफ्लेले होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताए । उनले अहिले नेपालमा होलीलाई नकरात्मक तवरबाट मनाइँदै आएको बताउँदै होली राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने पर्व भएको बताए । उनले होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा जोड दिए । सह प्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकोले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताए । सह प्राध्यापक काफ्लेले भने, ‘फागुलाई २/३ वटा दृष्टिकोणले हेर्न सकिन्छ । राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने फागुपर्व, अर्को पक्ष भनेको कृष्ण भगवानले गोपिनीहरुसँग वसन्तोत्सव मनाएको फागु पर्व होली हो । पौराणिक कालदेखि नै यो शुरुवात भएको देखिन्छ । यो मुख्यतया राक्षसी प्रवृत्तिलाई विनाश गर्ने र सकारात्मकता, सद्भावनालाई समाज र आफूमा ल्याउने यो खालको पर्व हो । मान्छे, पशुपंक्षी, वनस्पति, प्रकृति सबैप्रति हामी निरन्तर सद्भाव राख्छौँ भन्ने कुरालाई सन्देशको रुपमा बोकेको पनि यो पर्व हो । यसलाई रङहरुको पर्वको रुपमा धेरैले जान्दछन् । रङहरुको महत्वलाई हेर्दा हाम्रो सबै चाडपर्वहरु प्रकृतिसँग नजिक छ । हामीले प्रकृति रङहरुलाई ग्रहण गर्नुपर्छ । प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो त्वचा (छाला) लाई, स्वास्थ्यलाई धेरै नै लाभ पुग्छ । कृत्रिम खालका रङहरुलाई हामीले लिँदा त्यसले धेरै हानी गर्दछ । अहिलेको बालबच्चाहरुलाई हामीले रङहरु कसरी बनाउने, चुकन्दरबाट पनि हामीले एक प्रकारको बैजनी खालको रङ बनाउन सकिन्छ । बेसारबाट पहेँलो रङ हुन्छ । बेसार हाम्रो त्वचाको निमित्त औषधिय गुणले भरिपूर्ण हुन्छ । चामलको पीठोबाट हामीले सेतो रङ बनाउन सकिन्छ । चामलको पीठो पनि हाम्रो त्वचाको निमित्त असाध्यै राम्रो हुन्छ । दाद, पोतो हराउने हुन्छ । विभिन्न फूलहरुको लेप लगाउने, त्यस्तै किसिमका स्नान द्रव्यले स्नान गर्ने त्यो किसिमको वातावरण हामीले बनाउनु पर्छ । घरमै बनाइएका रङहरुलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ । कसैले पनि यसलाई नकारात्मक रुपमा व्याख्या गर्न हुँदैन ।’ सह प्राध्यापक काफ्लेले होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने बताए । उनले प्रकृति मेरेपछि संस्कृति नरहने जिकिर गर्दै नेपाली भाषालाई प्रोत्साहन गर्नुपर्ने र होली लगायतका नेपाली चाडपर्वहरुलाई विषयगत पाठ्यक्रममा राख्न आजको आवश्यक्ता भएको बताए । सह प्राध्यापक काफ्लेले भने, ‘होलीको महत्व बुझाउनको निमित्त हामीले शिक्षामा यसलाई समावेश गर्न आवश्यक छ । प्रकृति हाम्रो निमित्त कति आवश्यक छ ? प्रकृति मरेपछि हाम्रो संस्कृति मर्छ, सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाइदिएपछि भाषा मर्छ । हाम्रा बालबालिकाहरु, नेपालीहरुले नेपाली भाषा नजान्ने अवस्था आउनसक्छ । भाषा नजानेपछि भाषाले बोकेको संस्कृति र सन्देश पनि मर्दै जान्छ । शिक्षामा हामीले नेपाली भाषाको माध्यमले पढाउनुपर्छ ।’ वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । होलीका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् ।
सपिङ मलका व्यवसायीको गुनासोः पसल खोल्ने र बन्द गर्ने बाहेक केही भएन
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर (ओमिक्रोन) उच्च गतिमा फैलन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोमबारमात्र देशभर १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो समय उच्च गतिमा फैलिएको कोरोना संक्रमण र नेपाल सरकारले लागू गरेको विभिन्न प्रावधानका कारण व्यापारमा असर परेको व्यवसायीहरुले बताएका छन् । सरकारले लागू गरेको जोेरबिजोेर, २५ जनाभन्दा बढी भेला हुन नपाउने र खोप कार्ड अनिवार्य गर्दा ग्राहकहरु नै नआएको व्यापारीहरुको भनाई छ । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरे उच्च गतिमा फैलिएको कोरोना संक्रमणका कारण मलको व्यापारमा कमि आएको बताउँछन् । उनले पछिल्लो समय मलका व्यवसायीहरुले बिहान पसल खोल्ने र बेलुका बन्द गर्ने बाहेकका कुनै काम नभएको बताए । ‘हामी सिभिल मलका व्यवसायीहरुले सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेका छौँ, हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे तापनि ग्राहकहरु नै आउनुभएको छैन्, हामीलाई फिल्म हलबाट केही राहत हुन्थ्यो, त्यही पनि बन्द भएपछि मल नै सुनसान छ,’ उनले भने । घिमिरेका अनुसार ग्राहक नआउँदा अधिकाशं व्यवसायीले बोहनी समेत गर्न नपाउने अवस्था रहेको छ । उनले जोरबिजोर लागू हुँदा र खोप कार्ड अनिवार्य गर्दा जुन रुपमा व्यापार हुनुपर्ने थियो, त्यसो नभएको बताए । ‘केही समयअघि कोरोना महामारी अघिकै तुलनामा व्यवसाय भएको थियो, अहिलेको अवस्थामा केही मात्रामा भने पनि व्यापार हुन्छ होला भन्ने हामीले अनुमान गरेका थियौँ, तर हामीले अनुमान गरेभन्दा धेरै फरक पायौँ’, उनले भने । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल कोरोनाका कारण व्यापार व्यवसाय ठप्प जस्तो भएको बताउँछन् । उनले दुई वर्षदेखि भाडा, बैंक तथा वित्तीय संस्थाको कर्जा समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीलाई तेस्रो भेरियन्टले ठूलो असर पर्ने देखिएको बताउँछन् । ‘नेपालमा कोरोना संक्रमण पुष्टि भएको भन्दै सरकारले पटक/पटक गरेको बन्दाबन्दीका कारण हामी व्यवसायीलाई ठूलो समस्या भएको थियो, पछिल्लो समय व्यापार व्यवसाय पुरानै लयमा फर्किन थालेको थियो, यहि समयमा ओमिक्रोनका कारण पुनः समस्या भयो, ओमिक्रोन फैलिएकोे गतिसँगै सरकारले राखेको नयाँ/नयाँ प्रावधानका कारण झनै समस्या भयो,’ अध्यक्ष कटुवालले भने । व्यवसायीहरुका अनुसार कोभिडका कारण साना तथा ठूला ७५ प्रतिशत उद्योग बन्द भएका छन् । केही उद्योगहरु पुनः बन्द गर्ने तयारीमा आफूहरु रहेको व्यवसायी बताउँछन् । चीनका कारण समस्या भयो अध्यक्ष कटुवालले कोरोना महामारीसँगै चीनको अवरोधका कारण समस्या भएको बताए । ‘हामी अधिकांश वस्तुहरु आयातमा नै निर्भर छौँ, अधिकांश लत्ताकपडाहरु चीनबाटै आयात हुने गरेका छन्, आयातमा चीनको अवरोधका कारण हामीलाई थप समस्या हुने गरेको छ, जाडोका लागि ल्याइएको सामग्री अवरोधकै कारण अहिलेसम्म आइपुगेको छैन, एकातिर कोरोनाको डर अर्काेतिर भनेको समयमा सामान नपाउँदा व्यवसाय गर्न सक्ने अवस्था नै छैन,’ उनले भने । सिजनका लागि आवश्यक पर्ने कुनै सामग्रीहरु भनेको समयमा नआउँदा झन समस्या थपिएको व्यापारीहरुको भनाई छ ।
केही स्थानमा हल्का हिमपातको सम्भावना
फाइल फाेटाे काठमाडौं । नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राजधानी काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ । तापक्रम स्थिर रहे पनि घाम नलागेकाले केही चिसो बढेको छ । आज काठमाडौंको अधिकतम २२ र न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागसहित बागमती प्रदेश तथा प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यही मङ्सिर ४ गते पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।