सिद्धबाबा सुरुङको ६५ प्रतिशत प्रगति, तोकिएकै समयमा सम्पन्न गर्न कुलमानको निर्देशन

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको हो ।  १५१, १६१ र १३० मिटर लम्बाइ भएका ३ वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङ मार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तीब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजना स्थल पुगेका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए । उनले भने, ‘समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएको लगायतका काबु बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनु हुँदैन ।’ इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख (करसहित) मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १ हजार ८२५ दिन सुरुङ सञ्चालन एवं मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो । सिद्धबाबा क्षेत्रमा वर्षा याम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुक्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

बागमती नदीमा फोहोर व्यवस्थापनका लागि ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनोहरा दोभान, युएन पार्कर मनोहरा नदीको कर्मनाशा दोभानमा एक–एक स्थान गरी जम्मा छ ठाँउमा रु ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम धमाधम भइरहेको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरू रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनको कारण ठूलो मात्रामा फोहोर बगिरहेको पाइन्छ । यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ, जसले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउँछ । ट्रास बेरियरबाट संकलित फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउँछ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।    

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो । जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । ‘प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो’, उनले भने, ‘स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छौं ।’ लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ । कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ । सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा आठ अर्ब २० करोड खर्च भइसकेको बताए । रासस