धुलिखेल-खावा सडकखण्ड दुई साता राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण दुई सातासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सडक सुधार तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइने जनाएको हो। कार्यालयका अनुसार यो अवधिमा ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) लाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ। त्यस्तै, टिपर तथा ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालन गर्न नदिइने सूचनामा उल्लेख गरिएको छ। सडक निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न र सवारी आवागमनका कारण हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरेको छ।
नेपालले एक वर्षका लागि बिहार, युपी र उत्तराखण्डबाट बिजुली ल्याउने, आयात दरमा १.५ प्रतिशतमात्र वृद्धि
काठमाडाैं । नेपालले भारतका विहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट विद्युत आयात गर्ने भएको छ ।नेपालले एक वर्षका लागि विद्युत आयात गर्ने भएको हो । शुक्रबार आज नेपाल–भारत विद्युत आदान–प्रदान समितिको पोखरामा सम्पन्न १७औं बैठक यस्तो सहमति भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बैठकले आगामी एक वर्षका लागि विद्युत खरिददरसमेत निर्धारण गरेको छ । दुवै पक्षबीच भएको विस्तृत छलफलपश्चात गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशतमात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जानकारी दिएको छ । उक्त सहमतिअनुसार चालु वर्षका लागि १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८.२२, ३३ केभी स्तरमा प्रति युनिट ८.९१ तथा ११ केभी स्तरमा प्रति युनिट ९.५५ कायम गरिएको छ । साथै विद्युत खरिद दरको संरचनासम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको विद्युत प्राधिकरणले जनाएको छ । हाल विद्युत प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ । बैठकमा नेपालको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेका थिए भने भारतको तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरेका थिए । बैठकमा नेपाल र भारतबीच विद्युत आदान–प्रदानका लागि पीइसीमार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्राधिकरणले जानकारी दिएको छ ।
बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले, ५० किलोमिटर छोटो
काठमाडौं । गण्डकी प्रदेशको बेनी-ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन् । हालै मार्ग खुलेको बेनी-ढोरपाटन-तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ-काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन-बेनी हुँदै काठमाडौं गएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले सवारी सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि केही दिनअघि मार्ग खुलेको सडक प्रयोग गरेर बेनी हुँदै काठमाडौं गएको बताए । ‘सडक मार्ग नहुँदा पोखरा हुँदै काठमाडौं जान ढोरपाटन-बेनीको बाटो प्रयोग गर्दै आएका थियौँ । पुरानो पद मार्गलाई आधार मानेर अहिले खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पूर्वी, पश्चिमरुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा-काठमाडौं आवतजावत गर्न छोटो र सजिलो हुन्छ,’ उनले भने । तकसेरादेखि गाडीमा पाँच घण्टाको यात्रापछि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा आइपुगेका अध्यक्ष पुनको टोलीलाई उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत गरे । ‘बेनीदेखि मुना-खोरिया-मरेनी-जलजला-गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर दूरीको सडकको गत पुसमा मार्ग खुलेको थियो,’ धवलागिरिका उपाध्यक्ष पुनमगरले भने, ‘ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो साता मार्ग खुलेकाले हिउँदयाममा जीप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।’ स्तरोन्नति गर्न र खोलामा मोटर चल्ने पुल बनाउन बाँकी यो सडकले ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकलाई पनि सहज हुने धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । हाल प्रयोगमा आइरहेको बागलुङदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पमा छोटो दूरीको सडकका रूपमा विकास हुने सम्भावना छ । बेनीदेखि २०५५ सालमा यो सडक निर्माण सुरु भएको थियो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ-मुना-जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ५० किलोमिटर दूरी छोटो भएको बताए । बेनीदेखि तातोपानी-बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम-मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वीरुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित हुनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ २८ बेनीमा भएको कार्यक्रममा म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने प्रतिबद्धता जनाएका थिए । पूर्वीरुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसर छन् ।