सवारीसाधनमा कीटनाशक औषधि छर्किदै स्वयमसेवक

काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकले सवारीसाधनमा कीटनाशक औषधि छर्किएका छन् । उनीहरूले काठमाडौंको जडिबुटीबाट भक्तपुर गइरहेको सवारीसाधनमा उक्त औषधि छर्किएका हुन् । हाल बढिरहेकाे काेराेना भाइरसकाे प्रकाेप थप फैलिन नदिनका साथै यस विपद् समयमा सरकारलाई केहि राहत हाेस् भन्ने उद्देश्यले उक्त कदम अघि सारेकाे हाे । तस्बिरः प्रदीपराज वन्त/रासस

हुम्लामा बाहिरी जिल्लाबाट आएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडाैं । हुम्लाका चार गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यापिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए । यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्यापिड टेस्ट गरिने जनाइएको छ । सो लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरा तथा कार्यालय सहयोगी विनोद रोकाया खटिएका छन् ।

दार्चुलामा देखिए कालाजारका बिरामी

दार्चुला। हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको हो । जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ । दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययनसमेत गरेको थियो । कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन् । कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ । रासस