धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काभ्रेपलाञ्चोक । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएका र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिए । थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्यष्टि गरिएको छ । यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टको आकस्मिक बैठकले अस्पताललाई थप सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्न आग्रह गरेको छ । अस्पताललगायत क्षेत्रमा सावधानी अपनाउन र स्थानीय तहलाई थप सेचतना बढाउन आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । पोष्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ३७५ मा कोरोना सङ्क्रमण भएका थिए । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका १४ महिलासहित ४५ को मृत्यु भएको छ । सङ्क्रमितमध्ये सात होम आइसोलेशनमा उपचाररत छन् भने अन्य सङ्क्रमणमुक्त भइसकेका छन् । जिल्लामा हालसम्म कोभिडविरुद्ध २३ हजार ६३५ ले खोप लगाएको पोष्टले जनायो । रासस

नेपाल नेत्रज्योति संघले पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडाैं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गर्ने र आगामी पाँच वर्ष भित्र ६ सय ७७ वटा आखाँ उपचार केन्द्र स्थापना गर्ने बताएका हुन् । यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए । मोतिबिन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिने पनि महासचिव चन्दले बताए । यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाईल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरी उनले जानकारी दिए । नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३५ साल चैत्र १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए । उनले भने, ‘टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन ।’ सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र शाहले बताए । भवन निर्माण भएपछि करीब ६० हजार जनताले बारबर्दिया नगरपालिकाले सेवा पाउनेछन् । पश्चिम नेपालमै थारुमा समस्याका रुपमा रहेको सिकलसेल रोगले धेरै जनता पीडित भएपछि आफ्नो नगरपालिकाको कार्यसमितिले निर्णय गरेर यो रोग उत्थान गर्नका लागि आफूहरुले अस्पतालका लागि भवन निर्माण गर्न लागेको बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गाबहादुरले बताए । रासस