स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम नै शुल्क लिएका छौं- ह्याम्स अस्पताल

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि धेरै शुल्क लिएको भन्दै विवादमा तानिएको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) ले स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम शुल्क लिएको जनाएको छ । कोरोना संक्रमति विरामीबाट धेरै शुल्क लिएको भन्दै विवादमा तानिएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै एक वर्षदेखि सरकारले तोके बजोजिम जनरल बेडको प्रतिदिन न्यूनतम ७ हजार रुपैयाँ शुल्क लिने गरेको जनााएको हो । ‘विगत १ बर्ष देखि उक्त शुल्कमा सेवा प्रदान गरिआएको छौ । जनरल बेडको हकमा सरकारले तोके बमोजिम नै सात हजार रुपैयाँ प्रति दिनमा विरामीलाई सेवा प्रदान गरिरहेको जानकारी गराउन चाहान्छौं’, अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाल भर्ना भएका सवै विरामी आइसोलेसनका लागि नभएर अक्सिजन सहितको उपचारको लागि भर्ना भएकाले नेपाल सरकारले तोके बमोजिम नै शुल्क लिईएको हो ।’ यसैगरी, अस्पतालले क्याविनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप बैज्ञानिक हिसावले दर तोकेका जनाएको छ । जनरल बेड होस वा क्याबिन जुनसुकै बेडमा बसेर उपचार गरे पनि हामीले बिरामीलाई दिने सेवा एउटै हो । आर्थिक हैसियतको हिसावले विरामीको उपचार फरक ढंगले गर्दैनौं । विरामीले अतिरिक्त सुविधाका लागि क्याबिनमा बस्दा केहि अतिरिक्त शुल्क तिर्ने मात्र भएको अस्पतालले जनााएको छ । देशकै उच्च प्रविधि तथा दक्ष जनशक्तिले सु(सज्जित यस अस्पताल नेपालमा प्राईभेट स्तरबाट कोभिड-१९ का विरामीको उपचार सेवा शुरु गर्ने पहिलो अस्पताल रहेको कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले जानकारी दिए । उनका अनुसार ह्याम्स अस्पतालले मात्र ५ प्रतिशत मृत्युदरमा १६०० भन्दा बढी कोभिड-१९ का विरामीको सफल उपचार गरिसकेको छ । अस्पतालले सरकारले तोकेभन्दा धेरै ८० प्रतिशतसम्म बेड कोभिड विरामीका लागि छुट्टाईएको समेत जनाएको छ । ‘गुणस्तरीय तथा इन्फेक्सन रहीत सेवा प्रदान गर्नु परेको छ भने अर्को तर्फ खर्चमा उल्लेख्य बृद्धि भएको छ । अस्पतालले कोभिड-१९ का क्याविनमा बसेर उपचार गराउने विरामीबाट शुल्क थोरै बृद्धि गरेर लिनु बाध्यता हो’, कार्यकारी निर्देशक डा शर्माले भने ।

अल्का अस्पतालले भन्याे- अक्सिजन आपूर्तिमा समस्या भयाे

काठमाडौं । ललितपुरमा रहेको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ । अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा कठिनाइ भएकाे जानकारी गराएकाे हाे । ‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’, अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने- ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै जादा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ।’ उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ भने ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइएकाे छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई अनुरोध गरेको छ ।  

उपत्यकाका ठूला अस्पतालले नै पालना गर्दैनन् स्वास्थ्य मापदण्ड, ७ अस्पतालमा विभागको अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालकोे अनुगमन गरेको हो । उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको थियो । सात ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधिको अधिक मूल्य रु पाँच हजार एक सय लिएको नपाइएको जनाइएको छ । रेम्डेसिभिर औषधिको न्यून उपलब्धता, वितरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो । यस्तै बिरामीको अनुपातमा उपलब्ध श्यया सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो । उक्त अस्पतालको अनुगमनपश्चात् विभागले छानबिनका लागि आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ । पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सातवटा अस्पतालको अनुगमन गरेको हो । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।