थप ३ हजार ६११ संक्रमित थपिए
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९ हजार ७८३ पीसीआर र ४ हजार ८७८ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार ४६७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ सय ४४ जनामा संक्रमण देखिएको हो । यस्तै शुक्रबार थप २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१९ जना संक्रमति थपिएका छन् । जसमध्ये काठमाडौंमा ५५६, ललितपुर १८७ र भक्तपुर ७६ जना थपिएका हुन ।
सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो एक करोड रुपैयाँ
काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाल अस्पताल निर्माणका लागि उक्त चाइल्ड हेल्थलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको आर्थिक सहयोग गरेको हो । सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् । बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ । सानिमा बैंकको हालसम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन् ।
ललितपुरमा आजदेखि ४५ वर्षमाथिकालाई खोप दिइने
काठमाडौँ । ललितपुर महानगरपालिकाले आजबाट ४५ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने भएको भएको छ । महानगरले २९ ओटै वडामा आजबाट खोप लगाउन सुरु गरेको हो । महानगरपालिकाले एक सूचना जारी गर्दै आज साउन १५ देखि १७ गतेसम्म पहिलो चरणको भेरोसिल खोप दिन जानकारी दिएको छ । उक्त खोप अभियानमा ४५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकले महानगको २९ ओटा वडामा पुगी खोप लगाउन सकिने बताइएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज (नागरिकता) लिएर जानु पर्नेछ । महानगरपालिकाभित्र उक्त खोप बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म लगाइने व्यवस्था गरिएको छ । यसका साथै साउन १८ गतेका दिन जोन्सन एण्ड जोन्सन कार्यक्रम पनि सञ्चालन हुन गई रहेको र सोको विस्तृत जानकारी पछि सार्वजनीन गर्ने पनि सूचनामा उल्लेख छ ।