चितवनमा ‘सिजनल फ्लु’ का बिरामी बढे

चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए । उनका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उनले जानकारी दिए । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उनले आग्रह गरे । सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए । उनले भने, ‘ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।’ अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उनले जानकारी दिए । अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उनको भनाइ छ ।

थप तीन हजार १२५ संक्रमित थपिए, एक हजार ९ सय २५ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन । योसँगै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,२४ घण्टामा एक हजार ९ सय २५ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७० जना कोभिड संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा ११५ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ ।

यूएनएफपिएले सरकारलाई दियो ८०० थान अक्सिजन सिलिन्डर

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर लिएका छन् । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज (साउन १८ गते) १ करोड १९ लाख रुपैयाँ (१ लाख अमेरिकी डलर) बराबरको सो मात्राको अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेका हुन् । नेपालको कोभिड-१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण-दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो । कोभिड-१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो । महामारीले देशभरिका स्वास्थ्य संस्थाहरुमाथि निकै ठूलो दबाब सिर्जना गरेको छ । ‘हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ, चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ,’ डा टिंकरीले भने । ‘हाम्रो सामूहिक कोभिड-१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको हामी कदर गर्दछौं ।’ महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुमाथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजनसहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्त गर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन् । ‘कोभिड-१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरुमाथि यो अप्रत्यासित महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नुपर्छ,’ यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भने । प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ । ‘यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद,’ बाकीले भने । रोकथाम गर्न सकिने मातृमृत्युको अन्त्य, परिवार नियोजन सेवाको अपरिपूर्त मागको अन्त्य र लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको अन्त्य गरी तीन रूपान्तरणकारी लक्ष्यहरुतर्फको प्रगतिमा महामारीको प्रभावलाई न्यून गर्नका लागी संयुक्त राष्ट्रसङ्घका अन्य निकायहरु र विकास साझेदारहरुको साथमा यूएनएफपिएले सरकारको कोभिड-१९ प्रतिकार्य योजनाहरुका लागि उपलब्ध गराइरहेको सहयोगलाई निरन्तरता दिनेछ । यसअघि पनि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७,२४८ थान पिपिई कीट उपलब्ध गराएको थियो । त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवासगृहहरु मार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड-१९ र मनसुन आपतकालीन प्रतिकार्य स्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३४२,९३० थान सेनेटरी प्याड वितरण गरेको छ ।