नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू संचालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको बताए । उनले टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र अहिले अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’ अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा सुरु हुन लागेको बताए । अस्पतालले हाल २५ श्ययाको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ । कूल १०२ शय्यामा सञ्चालित यस अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जनाइएको छ ।

अब खोप लगाउन बार र पालो कुर्नु पदैन: स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको सयुक्त रुपमा अनुगमनका क्रममा उनले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए । ‘अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन’ मन्त्री खतिवडाले भने, ‘सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन् ।’ उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल पुलिसको अस्पतलामा २४ सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ । मन्त्री खतिवडाले केही दिनपछि जिल्लामा पनि जुनुुसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए । ‘खोपले के कस्तो प्रभाव पार्छ भनेर हामीले जनशक्तिलाई प्रशिक्षित गर्न पहिलो चरणमा दीर्घरोगीलाई खोप लगाउन थालेका हौँ,’ उनले भने । मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रदान गरिने बताए । सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको छ । उनले कोरोना भाइरस विरुद्धको खोप शतप्रतिशत जनतासम्म पुर्याउने बताए । मन्त्री खतिवडाले कोरोना भाइरसको महामारीका बेला काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइने बताए । ‘अर्थमन्त्रालयसँग रकम माग गरेका छौँ’, उनले भने । मन्त्री खतिवडाले कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकालगायत छिमेकी मुलुकसँग सँगसँगै अगाडि बढ्ने बताए । स्वास्थ्य बीमालाई सहज बनाइने उनको भनाइ थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई कोरोना भाइरसविरुद्धको लडाईमा अमेरिकी सरकारले सुरुदेखि नै साथ दिएको बताए । उनले कोभ्याक्समार्फत नेपाललाई फेरि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उहाँहरुले अस्पतालमा खोप लगाएको अवस्थाको अनुगमन समेत गरेका थिए । कार्यक्रममा स्वास्थ्य सचिवव डा रोशन पोखरेल, नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीलगायतको उपस्थित थियो । फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । रासस

बुधबार थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडाैं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार २२३ रहेको छ । आज २०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । एकको मृत्यु पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ ले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६३६ छ । अहिले होम आइसोलेसनमा सात हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आइसियुमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् ।