एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै, सेवामा ३० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम गर्ने भएको छ । लायन्स क्लव अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालले शुक्रबार उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । निशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेल ले निशिुल्क स्वास्थ्य परिक्षण गर्नेछन् । साथै, ल्यावमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ । त्यस्तै कोभिड पछाडी हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी हुने, हल्का टाउको दुख्ने, बढी भोक लाग्ने र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परिक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।

थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, ८७ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । देशभरिका ११ हजार ५८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ७ हजार ५५५ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा २४ वटा नमूनामा जिन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयकी प्रवक्ता संगिता मिश्रले बताएकी छिन् । उनले यसको अर्थ नेपालका सबै भु-भागम ओमिक्रोन भेरियन्ट फैलिएको बताइन् ।

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न

काठमाडौं । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो । उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ । यस्तै काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौंको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ । दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ । पिसिआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ । ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ । बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिएबापत १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ । उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ । रासस