रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित
मस्को । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ ।(रासस/सिन्ह्वा)
चितवनबाट नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
बुधबार थप २ हजार ४०१ जनामा संक्रमण, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिक १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ७ हजार ७७७ जना निको भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ ।