प्रसूति सेवा हुनु त यस्तो पो
चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ । अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन् । तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन् । उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उनले भने, ‘२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।’ विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् । निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ । उनले भने, ‘यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।’ निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा एक हजार रुपैयाँ समेत दिईन्छ । अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन् । यसका अतिरिक्त क्याबिन रहेका छन् । प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ पर्खाइ, नौ शय्याको एक्टिभ सक्रिय र तीन शय्याको लेवर रुम रहेका छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनी बताउँछन् । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले जानकारी दिए । डा सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे । उनले भने, ‘हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ ।’ कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ । अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा एनआइसियुमा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले जानकारी दिए । मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष एस एन सि यु लेवल टु समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ । यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति कङ्गारु मदर केयर पाँच शय्याको सञ्चालनमा छ । बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दो व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए । सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ । रासस
लामो आयु चाहनुहुन्छ भने दैनिक २ कप कफी पिउनुहोस्
एजेन्सी । दिनमा २ वा ३ कप कफी पिउनाले लामो आयु बढ्छ र मुटु रोगको जोखिम पनि कम हुन्छ । अष्ट्रेलियाको बेकर हार्ट एण्ड डायबिटिज रिसर्च इन्स्टिच्युटको टोलीले गरेको एक अध्ययनमा यस्तो देखाइएको हो । अध्ययनमा समावेश भएका २२.४ मानिसले कफी पिएनन् । अनुसन्धानकर्ताहरूले सबैको स्वास्थ्य रेकर्डमा नजर राखे। दैनिक २ देखि ३ कप कफी पिउनेहरूले सकारात्मक नतिजा पाएका छन्, जो मुटु रोगबाट पनि टाढा रहेको देखाएको छ । अध्ययनमा ४० देखि ६९ वर्ष उमेर समूहका ४.५ लाख मानिसलाई समावेश गरिएको थियो । उनीहरूलाई ग्राउन्ड, इन्स्ट्यान्ट र डिक्याफिनेटेड कफी जस्ता सबै प्रकारका कफी दिइयो। जसमा करिब ५५ प्रतिशत महिला रहेका थिए । अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई ६ वर्गमा विभाजन गरिएको थियो । जसमा कफी नपिउनेहरू, एक कप कफी पिउनेहरू, २ देखि ३ कप कफी पिउनेहरू, ४ देखि ५ कप कफी पिउनेहरू र ५ कपभन्दा बढी कफी पिउनेहरू गरेर बर्गिकरण गरिएको थियो । अध्ययनमा संलग्न सबैभन्दा बढी ४४.१ प्रतिशतले तत्काल कफी पिए। ग्राउन्ड कफी पिउनेहरू १८.४ प्रतिशत थिए भने १५.२ प्रतिशत डिक्याफिनेटेड कफी पिउनेहरू थिए। यो अनुसन्धान युरोपियन जर्नल अफ प्रिभेटिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो । भास्कर दैनिकबाट ।
वर्षमा २ अर्बसम्म कमाउने ग्राण्डी अस्पताल ६८ करोडमा सीमित, एक वर्षमा ५२ प्रतिशतले घट्यो बिजनेस
काठमाडौं । काठमाडौंको धापासीमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यापार घटेको छ । यस अस्पतालको कारोबार अघिल्लो वर्षको तुलनामा गत वर्ष ५२.२२ प्रतिशतले घटेको हो । यस अस्पतालले सन् २०२१ मा ६८ करोड ६० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ । सन् २०२० मा भने अस्पतालले एक अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, सन् २०१९ मा अस्पतालले दुई अर्ब ५ करोड ६० लाख र सन् २०१८ मा एक अर्ब ८८ करोड ९० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ । यस अस्पतालको आम्दानी पनि नियमित घट्दै गएको छ । सन् २०१७ मा यस अस्पतालले एक अर्ब ५३ करोड १० लाख रुपैयाँको बिजनेस गरेको थियो । कम्पनीको विजनेस प्रत्येक वर्ष घट्दै गएको छ । २०० शैय्या रहेको यो अस्पताल काठमाडाैंमा रहेका सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । सन् २०१३ देखि सञ्चालनमा आएको यो अस्पतालमा हेलिप्याडको पनि सुविधा छ । यस अस्पतालले एक अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले एलबी रेटिङ पाएको छ । ७ सदस्यीय सञ्चालक समिति रहेको यस अस्पतालको नेतृत्व दिपक कुवँरले गरिरहेका छन् । सञ्चालक समितिको सदस्यका रुपमा विजयराज भण्डारी, साधुराम पाण्डे, सुवर्ण कृष्ण मल्ल, बिरेन्द्र बहादुर श्रेष्ठ र डा. सविना श्रेष्ठ बिजुक्छे छन् । यस अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा.चक्रराज पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालतसम्म पुगेको थियो । डा. पाण्डे र ज्योति समूहको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो पनि ग्राण्डीमा छिरेका थिए । ५१ प्रतिशत सेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतोले कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेता पनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।