सरकारको दियो पोलियो भाइरस खोपको क्लिनीकल ट्रायलको लागि अनुमति

काठमाडौं । सरकारले नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर अकाउण्टिङ स्ट्याण्डर एनपीएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १९ मिलियन युरो करिव २ अर्ब ५४ करोड बराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त करिव २ अर्ब ५७ करोड बराबरको अनुदान सहायता स्वीकार गरेको छ । बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्ति गरेको बताए । त्यस्तै सरकारले वि.सं. २०७९ मंसिर २० देखि २३ गतेसम्म सिंगापुरमा हुने १७ औँ एशिया तथा प्रशान्त क्षेत्रिय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव यकनारायण अर्याल नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने, तारागाउँ विकास समिति कर्मचारी सेवा र सुविधा नियमावली बनाउन स्वीकृत प्रदान गर्ने, लुम्बिनी विकास कोषको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले भने, ‘२०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ । यो निर्वाचनलाई सफल बनाउन आफ्नो आफ्नो क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी, नागरिक समाज, लगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने सबैलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिने । वि.सं. २०७९ मंसिर १९ देखि २१ गतेसम्म पाकिस्तानको इस्लामावादमा आयोजना हुने शिख साउथ एण्ड द साउथ वेस्ट एशिया फोरममा राष्ट्रिय योजना आयोगका मान्य सदस्य डा. दिलबहादुर गुरुङको नेतृत्वमा भ्रमण टोलीलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने । नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर एकाउण्टिङ स्ट्याण्डर एनपीएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति प्रदान गर्ने । प्रवक्ता कार्कीले सरकारले पोलियो भाइरस खोपको क्लिनीकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।  

पत्रकार र उनका परिवारलाई प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकमा छुट

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे । एक वर्षका लागि भएको सम्झौता २० मङ्सिर २०७९ देखि लागू भइसकेको छ । सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखामा आबद्ध एक हजार चार ६७ पत्रकारलाई परिचयपत्रका आधारमा बहिरङ्ग सेवामा ५०, प्रयोगशाला परीक्षणमा ४० र औषधि खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । पत्रकारको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ । प्रतिष्ठान आबद्ध पत्रकारका आश्रित परिवारका तीन जनासम्म सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुनेछ । क्लिनिकमा प्रजनन् स्वास्थ्य, कलेजो प्रत्यारोपण, स्त्री तथा प्रसूति, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु, शल्यक्रिया, दन्त उपचार, मनोपरामर्श तथा उपचार, मिर्गौलासम्बन्धी उपचार, नाक, कान, घाँटी, बालरोग, स्नायु, टेस्टयुब बेबी, छालासम्बन्धी सेवा, फिजियोथेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए । महासङ्घका केन्द्रीय सदस्य मणि दाहालले समझदारीले खासगरी श्रमजीवी पत्रकारलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास व्यक्त गरे । रासस

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

तानसेन । काठमाडौंका विकाश मर्हजन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथो पटक पाल्पा घुम्न आएका उनलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । ‘एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ’, उनी भन्छन्, ‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल यात्रा र्याफ्टिङ, प्याराग्लाईडिङ्ग र जीपलाईनले पर्यटकलाई आर्कषित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रर्वद्धनमा थप टेवासमेत पुर्याएको छ । पहिलो पटक रानीमहल घुम्न आएका नेपालगञ्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्याफ्टिङ गर्दा आनन्द महसुस भयो’, उनी भन्छन्, ‘प्रकृतिसँग रमाउदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दछन् । यहाँका एतिहासिक तानसेन वजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमर्ण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्गजाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गरेका थिएनन् । उनी भन्छन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ र्याफ्टिङ सुविधा छ, भन्ने थाहा थिएन् ।’ चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उनी बताउँछन् । तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाईडिङ्ग संचालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन वजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका संचालक रुपम कक्षपतीले जानकारी दिए । यात्रुहरुको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उनको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौँ लगायतक्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट संचालित जीपलाईन यहाँ आउने पर्यटकहरुको अर्को गन्तव्य बनेको छ । पाँचसय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइकिलिङ्ग गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका संचालक देव पचभैया बताउँछन् । उक्त जीपलाईन पाल्पा दर्शनले संचालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ । रासस