प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध विषयक राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराइयो । क्लिनिकबाट प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ । मञ्च र आइपास नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले प्रजनन् स्वास्थ्य अधिकारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन् । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति प्रतीक्षा नेपालले हिंसाबाट पीडित भएकाका लागि उपचार गर्न केन्द्रको सुरुआत गरिएको उनको भनाइ छ । हाल ७७ जिल्लाका ९४ स्थानका सरकारी अस्पतालबाट यो सेवा दिइएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिपा लामाले प्रजनन् स्वास्थ्यसम्बन्धी हिंसालाई पनि लैङ्गिक हिंसामा राखिनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रममा मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ, आइपासका माधवी बज्राचार्यलगायतले संविधानमा उल्लेख गरिएको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक काम गरिनुपर्नेमा जोड दिएका थिए । रासस
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड अनुदान रकम उपलबध गराइएको अस्पतालका मेसु डा सापकोटाले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा सापकोटाले बताउनुभयो । प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले बताए । यहाँ प्रत्यारोपण सेवा नहुँदा जिल्लाका मिर्गौला रोगी काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन लगायतका अस्पताल जाने गरेका छन् । रासस
‘नर्भिक आइभिएफ’ले दिएको खुशी : निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा
काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पत्तिले सन्तान पाउन सकेन । झा दम्पत्तिलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आइभिएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए । अन्ततः आइभिएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि नर्भिक आइभिएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् । ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’ रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् । ‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भनका छन् ।’ उनले भनिन्–‘बच्चाहरु पाएको दिन म झनै खुशी हुन्छु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ । झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आइभिएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डा. शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।