खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
खोटाङ । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि मगलबार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जन्मिएदेखि १५ महिनासम्मका दुई हजार आठ सय ८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका ६ हजार चार सय २२ बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ, सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’ जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालयका प्रमुख चौलागाईंलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गरे । सो अवसरमा १० वटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न संघसंस्थालगायतलाई सम्मान गरिएको थियो । कोशी प्रदेशका १४ मध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने चौथो हो ।
प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने
पाटन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताए । उनले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिए । ‘सबै अस्पताललाई बागमती प्रदेश सरकारले औषधि, खोप, तालिम, गोष्ठीलगायत सहयोग गर्नेछ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौँ, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरूको जीवन बीमा र बजेट व्यवस्था गरिएको छ, कसरी राम्रो गर्न सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालयले काम गरिरहेको छ ।’ उनले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेकाले न्यूनीकरण गर्न मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको जानकारी गराए । उनले समुदायसँग मिलेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनेलगायत कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेको बताए । अनुभवले आर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न महिला स्वयंसेविकालाई उनको आग्रह थियो । निराश नभई क्रियाशील रहन उनले अनुरोध गरे । ‘आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ,’ उनले भने । जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै बिरामीको चाप थेग्न नसकेकाले प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूको क्षमता र सेवा सुविधा वृद्धि गर्नुपर्ने बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवा सुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ, आगामी दिनमा पनि गाउँटोलमा सेवा पु(याउनु हुनेछ भन्ने विश्वास छ,’ अध्यक्ष केसीले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संविधानले शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भए पनि संघ र प्रदेशका कार्यालयले गरेका कामका बारेमा जानकारी नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने विषयमा महिला स्वास्थ स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन र जनचेतना फैलाउन गरेको योगदानको प्रशंसा गरे । उनले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिइ संघ र प्रदेशको अलावा थप सुविधा उपलब्ध गराइरहेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले महिला स्वयंसेविकाहरूले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन पु(याएको योगदानका कारण नेपालले सहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले छ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गरेका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रमाणपत्रसहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको हो । सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्य पूरा गर्न र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५र४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रूपमा परिणत गरेको थियो ।
चितवनका १७ सय जनामा डेंगु संक्रमण
चितवन । चितवनमा १ हजार ७ सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार ५ सय ७१ जनाको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये १ हजार २ सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगु संक्रमण देखिएको केसीले जानकारी दिए । यस्तै, ठेगना नखुलेका १ सय ३८ र चितवन बाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका ३ सय ६५ जनामा डेंगु संक्रमण देखिएको छ । एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताए । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगु देखिएको छ । खैरहनी नगरपालिकामा १ सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा २ सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगु संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिए ।