वाइवाइ चाउचाउ गुणस्तरहिन, चौधरी ग्रुपलाई २ लाख जरिवाना, बजारबाट सामान फिर्ता गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ बजारमा बिक्रीवितरण गरेकाे भेटिएपछि महानगरकाे कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । बैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ । महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट बैशाख २ गते चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ जफत गरिएकाे महानगरले जनाएको छ । । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल/वाईएल २३ का १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको महानगरले बताएको छ । प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले कम गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको भएको पाइएको महानगरले जनाएको छ । नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनअनुसार खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएका थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएच/जी आयल देखिएको छ । जबकी यसको भ्यालु १ एमजी केओएच/जी आयलभन्दा बढी हुनु हुँदैन । खाद्य प्राविधिक अनिल बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए । चाउचाउको बिक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरलाई ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिवद्धता गर्दै पत्र काटेको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपाल हुने उक्त पत्रमा उल्लेख छ ।

यूनिभर्सल टुर्स एण्ड ट्राभलको आम्दानी बढ्यो, एक अर्ब बढी ऋण लिँदै

काठमाडौं । यूनिभर्सल टुर्स एण्ड ट्राभलस् (यूटीटी) को आम्दानी ३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा उक्त कम्पनीको सञ्चालन आम्दानी ३०.२१ प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०२३ मा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीको आम्दानी १८ करोड २० लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०१९ मा १० करोड ६० लाख, २०२० मा ११ करोड ९० लाख र २०२० मा ११ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । कोभिडपछिको अन्तर्राष्ट्रिय हवाईमा भएको सुधार र विदेशी पर्यटकको बढ्दो आवतजावतले कम्पनीको आम्दानीमा टेवा पुगेको हो । साथै, नेपाल सरकारले पर्यटन क्षेत्रमा घोषणा गरेको आर्थिक वर्ष २०२३ देखि २०३२ सम्मको लागि नेपाल भ्रमण दशकले पनि कम्पनीको व्यापार वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । सन् १९७५ देखि सञ्चालनमा रहेको यूटीटी नेपालको सबैभन्दा पुरानो ट्राभल र टुर अपरेटहरुमध्ये एक हो । सन् १९७८ देखि कम्पनीले नेपालमा विभिन्न एयरलाइन्सका लागि सामान्य बिक्री अभिकर्ताको रुपमा सेवा दिँदै आएको छ । हाल भने कम्पनीले कोरियन एयर फ्लाई दुबई र एमिरेट्स एयरलाइन्सका यात्री र काग्रो दुबै व्यवसायकोे लागि सामान्य बिक्री अभिकर्ताको रुपमा काम गरिरहेको छ । यूटीटी परिवारको स्वामित्वमा रहेको व्यवसाय हो । जसको ९० प्रतिशत सेयर ललिता प्रसाईको रहेको छ भने बाँकी १० प्रतिशत पराशर प्रसाईको रहेको छ । दुबै जना कम्पनीमा प्रबन्ध निर्देशकको रुपमा काम गर्दै आएका छन् । कम्पनीले नेपालमा नयाँ एयरलाइन्सको सामान्य बिक्री अभिकर्ता थपेर आफ्नो व्यवसाय विस्तार र विविधीकरण गर्ने योजना बनाएको छ । जसको लागि कम्पनीले एक अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको ऋण लिँदै छ । उक्त ऋणको लागि कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले ११ करोड १० लाखको दीर्घकालीन लोनको लागि एलबीबी प्लस र बाँकी अल्पकालीन लोनको लागि एफोर प्लसको रेटिङ दिएको छ ।

इमर्जेन्सी सेयर बेच्न अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्छ : निरञ्जन फुयाँल

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ, इमर्जेन्सी पैसा आवश्यक परेर राती सेयर बेच्नु परे के गर्ने ? त्यसका लागि अफ मार्केट ट्रान्जिक्सन हुनुपर्छ,’ फुयाँलले भने । उनले आधारभूत रुपमा राम्रो कम्पनी हेरेर सेयर किन्ने लगानीकर्तालाई घाटा नहुने बताउँदै उनले भने- ‘नबिल बैंक र गोरखकाली रबर उद्योग एकैपटक सेयर कारोबार भएका हुन् । तर नबिल बैंकको अर्बौंको पोर्टफोलियो छ । रबर उद्योगको शून्य ।’ त्यस्तै, देशको अर्थमन्त्री परिवर्तन हुँदा पुँजी बजारमा केही समय मात्रै प्रभाव पार्ने स्पष्ट पारे । कम्पनीको सेयर मूल्यलाई सीईओको भूमिकाले नि निर्वाह गर्ने बताउँदै उनले कम्पनीको सीईओ कस्तो हो ? कति अब्बल छ भनेर लगानीकर्ताले विश्लेषण गर्नुपर्ने बताए । ‘मेगा बैंक र जनता बैंकले एकैदिन लाइसेन्स पाए । पुँजी बजारमा एउटै दिन कारोबारमा आए तर सेयर मूल्य १ सय रुपैयाँ तलमाथि भएर कारोबार भयो,’ उदाहरण दिँदै फुयाँलले भने । पुँजी बजारमा लगानी गर्दा देशको आर्थिक अवस्था, कम्पनी र उद्योगको विश्लेषण गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार एउटै किसिमको पीई रेसियो कायम गर्न सके राम्रो मानिने र कम पीई रेसियो भएका कम्पनीको सेयर किन्दा जोखिम कम हुन्छ । तर वाणिज्य बैंकको सबैभन्दा कम पीई रेसियो भएपनि लगानीकर्ताले लगानी गरेको नपाइएको उनले भने । बजारमा ओभर क्यापिटलाईजेशन हुँदा तरलता अभाव भएको देखिन्छ । नेपालमा उत्पादन भएको जलविद्युत् भारतले खरिद गरेन, अन्य कुनै वैकल्पिक (सोलार) बाट बिजुली उत्पादन भएर जलविद्युत आयोजनाको भविष्यमा समस्या आउँछ । लगानीकर्ताले यस विषयलाई पनि विश्लेषण गर्नुपर्ने फुयाँल बताउँछन् । त्यस्तै, नीति नियम, टेक्निकल र सूचना प्रभावकारी हुँदा पुँजी बजारले सकारात्मक दिशा लिने बताउँदै उनले बजारमा प्रवेश गर्दा सकेसम्म न्यूनतम शुल्कमा प्रवेश हुनुपर्ने बताए ।