गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि चैत २८ गते कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार, चैत २७ गतेसम्म सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
नेपालको आफ्नै कार्ड ‘नेपाल पे’ सार्वजनिक, यस्ता छन् फाइदा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘नेपाल–पे’ नामक भुक्तानी कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्डको औपचारिक उद्घाटन गरेका हुन् । नेपालको आफ्नै भुक्तानी कार्ड भन्ने नारासहित सुरू गरिएको यो सेवा अन्तर्गत नेपालीहरूले अब अन्तर्राष्ट्रिय कार्ड प्रदायकहरूमा निर्भर हुन नपर्ने एनसिएचएलले जनाएको छ । यसले डिजिटल कारोबारलाई स्वदेशमै सहज, सुरक्षित र किफायती बनाउने विश्वास गरिएको छ । सुरुवाती चरणमा सिटिजन्स बैंक, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंक मार्फत यो कार्ड जारी गरिनेछ । क्रमशः अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि सेवा उपलब्ध गराउनेछन् । नेपाल–पे कार्डका विभिन्न फाइदाहरू रहेका छन् । नेपालमै विकसित भएकाले सबै कारोबारको विवरण नेपालमै रहनेछ । भिसा वा मास्टरकार्डजस्ता विदेशी कार्ड प्रयोग गर्दा लाग्ने अतिरिक्त शुल्क जोगिनेछ । डाटा देशमै रहने भएकाले व्यक्तिगत तथा वित्तीय जानकारी सुरक्षित हुनेछ । यसका साथै, डेबिट, क्रेडिट, प्रिपेड, भर्चुअल कार्ड क्रमशः जारी गरिनेछन् । भविष्यमा नेपाल–पे कार्डलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोग गर्न मिल्ने बनाउने तयारी भइरहेको छ । नेपाल–पे कार्डको पहिलो प्रतिलिपि हिमालयन बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदान गर्यो भने, पहिलो पिओएस कारोबार माछापुच्छ्रे बैंकमार्फत सम्पन्न गरिएको थियो । गभर्नर अधिकारीका अनुसार यो नयाँ प्रणालीले नेपालको आर्थिक स्वायत्तता बढाउनेछ । उनले भने, ‘अहिले विदेशी कार्ड प्रयोग गर्दा नेपालबाट ठूलो रकम बाहिरिन्छ। अब स्वदेशी कार्ड सञ्चालन भएपछि त्यो रकम जोगिनुका साथै डिजिटल कारोबारलाई सुलभ बनाउनेछ ।’ नेपाल राष्ट्र बैंकले स्वदेशी भुक्तानी प्रणाली विकास गर्ने रणनीति अनुरूप नेपाल–पे कार्ड सार्वजनिक गरेको हो । एनसिएचएलले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूसँग सहकार्य गर्दै कार्डलाई अझ प्रभावकारी बनाउन प्रयास गरिरहेको जनाएको छ । नेपाल–पे कार्डको आगमनले डिजिटल कारोबारको नयाँ युग सुरू गर्ने विश्वास गरिएको छ ।
हुलदङ्गाबाट भएको क्षतिको बीमा दाबी चाँडो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकामा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बीमा कम्पनीलाई घटनाको क्षति र असहजतालाई ध्यानमा राखी दाबी प्रक्रिया छिटो गर्न भनेको छ । साथै, हुलदङ्गाबाट भएको क्षतिको विवरण प्रत्येक हप्ताको बुधबार एक्सेल स्प्रिडसीट ढाँचामा साप्ताहिकरूपमा प्राधिकरणमा पेश गर्न निर्देशन दिइएको छ ।